सूचनाको शक्ति - The Power Of Information

        

समाचार

चार महिनापछि खुले नेपालगन्जका विद्यालय

फाइल तस्वीर

बाँके । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै बन्द भएका नेपालगञ्जका विद्यालय चार महिनापछि आइतबारबाट पुनः सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण एक्कासि वृद्धि भएसँगै गत वैशाख ९ गते निषेधाज्ञा जारी गरिएपछि नेपालगन्जका विद्यालय बन्द गरिएका थिए ।

त्यसयता सङ्क्रमण घट्दै गएपछि अरू क्षेत्र सहज गरिए पनि विद्यालय भने सञ्चालन गर्न दिइएको थिएन । सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेर विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि आइतबारबाट नेपालगञ्जका विद्यालय सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाले भदौ २७ गतेदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि विद्यालय सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापकहरूले जनाए । उपमहानगरपालिकाका शाखा अधिकृत लोकेन्द्रबहादुर शाहीका अनुसार विद्यालय सञ्चालन गर्दा सञ्चालकले स्मार्ट लकडाउन निर्देशिका बमोजिमका मापदण्ड पालना गर्नुपर्नेछ ।

विद्यालयमा विद्यार्थी सङ्ख्याका आधारमा सिफ्टमा उपस्थित गराउन निर्देशन दिइएको जनाउँदै उनले कुल विद्यार्थीको एक तिहाइमात्रै सहभागी गराएर पठनपाठन गराउनुपर्ने बताए । एउटा बेञ्चमा दुई जना मात्रै विद्यार्थी राख्नुपर्ने निर्देशनसमेत दिइएको शाखा अधिकृत शाहीले बताए ।

यसअघि बाँकेकै खजुरा गाउँपालिकाले भदौ २१ गतेदेखि नै सिफ्ट प्रणाली लागू गरी विद्यालय सञ्चालन गरिसकेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाले सोमबारबाट विद्यालय सञ्चालन गरेको छ । अझै धेरै निजी विद्यालय सञ्चालनमा आएका छैनन् । उनीहरूले अभिभावकहरूसँग छलफल गरेर स्वीकृति लिएर मात्र विद्यालय खोल्ने जनाएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार ०९:५४