सूचनाको शक्ति - The Power Of Information

        

४४ वर्षमा पहिलो पटक रसिद काटेर खाद्यान्न बिक्री

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाले ग्राहकलाई खाद्यान्न बिक्री गर्दा नगदी रसिद दिन सुरु गरेको छ । सर्वसाधारणको मागअनुसार खाद्यान्न खरिद गरेको प्रमाणको माग हुन थालेपछि शाखाले नगदी रसिदको व्यवस्था गरेर खाद्यान्न बिक्री वितरण सुरु गरेको हो ।

आफूले पहिलो पटक नगदी रसिद लिएर खाद्यका सामान किनेका नेत्रबहादुर शाहीले अब खाद्यान्न खरिदमा ढुक्क हुने अवस्था आएको बताए । उनले ४० केजी खाद्यान्न खरिद गरेर नगदी रसिद पाएका हुन् । यसअघि सेवाग्राहीले शाखाका कर्मचारीलाई देखाएको खाद्यान्न कार्डअनुसारको मूल्य तिर्ने तर नगदी रसिदबिना नै खाद्यान्न बिक्री वितरण हुने गथ्र्यो ।

उहाँले नगदी रसिद हातमा लिएपछि आफूले खरिद गरेको खाद्यान्नको मूल्य र परिणामबारे पनि निश्चित भएको बताए । लिमिटेडको शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले २०३४ सालमा स्थापना भएको तत्कालीन खाद्य संस्थानको सिमकोट शाखा र हाल लिमिटेडले पहिलो पटक नगदी रसिदबाट कारोबार सुरु गरेको बताए ।

स्थापनाको ४४ वर्षपछि शाखाले नगदी रसिदबाट खाद्यान्न बिक्री गरेको हो । उनी केही दिनअघि मात्र सरुवा भएर हुम्ला आएका हुन् । उनले आफ्नो पनि सोच र सेवाग्राहीको मागअनुसार खाद्यान्न बिक्री वितरण गर्दा नगदी रसिदबाट कारोबार गरेको बताए ।

नगदी रसिदबाट बिक्री गर्न सुरु गरेको पहिलो दुई दिनमै जन्मदर्ता र मृत्यु तथा अन्य भैपरी आउने खाद्यान्न २०० क्विन्टल बिक्री गरेको बिक्री शाखाले जनाएको छ । यसबाट सात लाख रुपियाँ मूल्यको खाद्यान्न बिक्री भएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले क्रेता र बिक्रेताको स्पष्टताका लागि पनि नगदी रसिद आवश्यक रहेका बेला यो कार्यको थालनी हुनु सकारात्मक भएको बताए । उनले यसबाट शाखालाई पारदर्शीता कायम गर्न सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार ०९:५०