सूचनाको शक्ति - The Power Of Information

        

सर्वदलीय बैठक

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने

दिउँसो साढे २ बजे ल्होत्से हलमा बस्ने

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागि नहुने भएका छन् ।

संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख सापकोटाले सोमबारको लागि सर्वदलीय बैठक बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी एमालेले लगातार संसदमा अवरोध गर्न थालेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो ।

सभामुखले प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीलाई व्यक्तिगत पत्र पठाएर निम्ता गरेपनि ओली नजाने भएका हुन् ।

यसअघि सभामुखले बोलाएका कुनै पनि बैठकहरुमा समेत सहभागि नहुने गरेका ओलीले आजको बैठकमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेतालाई पठाउने भएका छन् ।

तत्कालिन नेकपा रहँदाबाटै प्रधानमन्त्रीको रुपमा रहेका ओली र सभामुख सापकोटाको सम्बन्ध विग्रिएको थियो । सभामुखले संसदमा सरकारका बिजनेसलाई निर्णयार्थ प्रस्तुत नगरेको भन्दै ओली असन्तुष्ट रहेका थियो । संसद विघटनको प्रयास गर्नुमा समेत उक्त विषय रहेको बताइन्छ ।

त्यस्तै भदौ १ गते एमालेले कारवाही गरेका १४ सांसदहरुलाई कारवाही नगरेपछि एमाले सभामुख माथि खनिएको छ । जसको कारण निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको छ ।

सभामुख सापकोटाले अर्काे बैठक बस्नुअघि नै विवाद समाधान गर्न चाहेका हुन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठक सोमबार दिउँसो साढे २ बजे ल्होत्से हलमा बस्नेछ । संसदको नवौँ अधिवेशन २३ भदौबाट सुरु भएको हो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार ११:१७