सूचनाको शक्ति - The Power Of Information

        

गाभरमा बाघले मान्छे खायो

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा बाघले मान्छे खाएको छ ।

गाभरस्थित भेरीराप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले खाएको हो । केही समयदेखि होटलमा मजदुरी गर्दै आएका मृतकको ठेगाना भने खुल्न सकेको छैन ।

आइतबार बेलुकीदेखि हराइरहेका उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर खाएको अवस्था शव भेटिएको स्थानीय चन्दा लामाले जानकारी दिइन् ।

मधेशी समुदायका ती ब्यक्तिलाई स्थानीयले ‘भैया’ भनेर बोलाउने गरेका थिए । ‘होटलमा काम सकेपछि बेलुकीपख भैया सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्थ्ये, हावा खाएर फर्किन्थ्ये, त्यही बेलामा बाघले झम्टेर लगेछ,’ लामाले भनिन् ।

मृतकको शव पूर्वपश्चिम राजमार्गबाट करिव ५०० मिटर उत्तरतर्फ निकुञ्जभित्रको जंगलमा भेटिएको उनले बताइन् । लामाका अनुसार बाघले मृतकको आधा शरीर खाइसकेको छ ।

आइतबार दिनभर गाउँ नजिकै आएर बाघ कराएको र दुई दिनअघि मात्र गाउँमै पसेर बाघले दुई वटा बाख्रा र बाच्छो मारिदिएको लामाले सुनाइन् ।

‘पाटेबाघको दुई जोडी नै छ, गाउँ नजिक आएर अचेल कराउँछन्, दुई÷तीन दिनदेखि प्रायः भेटिन्छन्, हामीले धेरै पटक बाघलाई देखिसकेका छौं, फुटबल खेल्ने केटाहरुले पनि देखेका रहेछ,’ उनले भनिन्, ‘बाघले हाम्रो गाउँमा आतंक मच्चाइरहेको छ, हामी धेरै नै त्रसित भएका छौं ।’

घटनास्थलमा अहिले जनप्रतिनिधि, प्रहरी र स्थानीयबासी भेला भएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार ११:१२