सूचनाको शक्ति - The Power Of Information

        

असोज २ मा ग्रान्ड फिनाले, को बन्ला कमेडी च्याम्पियन ?

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को ग्रान्ड फिनाले असोज २ गते हुँदैछ । कोरोना संक्रमणको त्रासका कारण नियमित सेटमै ग्रान्ड फिनाले हुनेछ । फाइनलमा भरतमणी पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । उनीहरु फाइनलका लागि प्रस्तुति दिएर भोट माग्न होम टाउन पुगिसकेका छन् ।

गृह जिल्लामा भोट मागेर उनीहरु ग्रान्ड फिनालेका लागि काठमाडौं फर्किने छन् । फाइनलका लागि भोट अपिल गर्दै भरतमणीले आफ्नै गाउँ–समाज र त्यहाँको सामाजिक जीवन शैलीप्रति व्यङ्ग्य गरेका थिए । बिक्कीले अघिल्लो श्रृंखलामा आफूले दिएको प्रस्तुतिप्रति निर्णायकको प्रतिक्रिया र प्रतिस्पर्धीसँगको आफ्नो सम्बन्ध तथा आफूले असअघि दिएको चर्चित प्रस्तुतीलाई लिंक गरेका थिए ।

अर्का प्रतिस्पर्धी सन्तोष थापाले भरतमणी र बिक्कीप्रति दर्शकको लोभलाग्दो क्रेजेको चेपुवामा आफू पर्दाको व्यङ्ग्यात्मक पीडालाई प्रस्तुतिको विषय बनाएका थिए । सन्तोषको यो प्रस्तुतिलाई निर्णायकले मन पराएका थिए । आफैंप्रति गरेको व्यङ्ग्यले उनीप्रति दर्शकको सहानुभूति प्रकट हुन सक्छ । जसले गर्दा अघिल्ला श्रृंखलाको अनुपातमा दर्शकको भोट उनलाई बढ्न सक्छ ।

भरतमणीले आफ्नो प्रस्तुतिमार्फत गाउँका लिम्बू समुदायलाई खुसी पार्ने प्रयास गरेका छन् । बाहुन–क्षेत्रीसँग तुलना गर्दै लिम्बू समुदाय दिलदार हुने उनले प्रस्तुतिमार्फत जनाएका थिए । यसलाई भोटका लागि गरेको चलाखी भनेर पनि अर्थ लगाउन सकिन्छ, भलै त्यो सत्य नै किन नहोस् । बिक्कीलाई नेपाल र नेपालबाहिरका नेपाली भाषीहरुको राम्रो साथ मिल्न सक्छ ।

रियालिटी शोहरुमा नेपालबाहिर बस्ने नेपालीभाषीहरुको बाक्लै आगमन हुने गरे पनि फाइनल पुग्ने उनी पहिलो व्यक्ति हुन् । त्यसैले यसको फाइदा उनले उठाउन सक्छन् । तर, रियालिटी शोमा प्रतिभाको सधैँ सही मूल्यांकन हुन्छ भन्ने हुँदैन । कारण प्रतिस्पर्धीको प्रतिभासँगै जातीयता, भूगोल र ऊ र उसका आफन्तको आर्थिक अवस्थाले पनि फरक पार्न सक्छ । कसका पक्षमा धेरै भोट आउँछ भन्नेभन्दा पनि जसले धेरै भोट गराउन सक्छ उसको पल्ला भारी हुन्छ भन्ने यर्थाथ यसअघिका रियालिटी शोका अनुभवहरुले प्रष्ट पारिसकेका छन् ।

यही कमेडी च्याम्पियनमै गेष्ट पफर्मरका रुपमा आउने कमेडियनहरुले विजेता र उसले पाउने आकर्षक प्राइज कसरी जितिन्छ भनेर गरेको व्यङ्ग्यले पनि केही संकेत गर्छ । भलै त्यसमा सतप्रतिशत सत्यता नहोला तर प्रस्तुतिले गरेको संकेतलाई नजरअन्दाज गर्न सकिन्न । यही सिजनका फाइनलिष्ट सन्तोषको प्रस्तुतिले पनि भोटको राजनीति छर्लङ्ग पारिसकेको छ । (भलै उनले भनेजति नहोला ।)

गत सिजनमा प्रत्यक्ष साथ नदिएका नेताहरुले यो पटक भने खुलेरै साथ दिएका छन् । आ–आफ्ना जिल्लाका नेताहरुले प्रतिस्पर्धीलाई साथ दिएका छन् । गोरखाका सन्तोष थापालाई पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको साथ छ । ताप्लेजुङका भरतमणीलाई पूर्व मन्त्री तथा एमाले नेता योगेश भट्टराईको साथ छ । उनलाई पूर्व मन्त्री तथा नेपाली कांग्रेसका यूवा नेता गगन थापाको पनि साथ छ ।

जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा गगनले भरतमणीलाई भोट मागेका हुन् । सिक्किमका बिक्की अग्रवाललाई मुख्य मन्त्री प्रेमसिंह तामाङको साथ छ । बिक्कीलाई मुख्य मन्त्री तामाङले ६ लाख आईसी दिएर सेमिफाइनल अगाडि नै भोटका लागि सहयोग गरेका थिए । अहिले पनि भोटको क्याम्पेनिङमा उनले सहयोग गरिरहेको कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारी बताउँछन् । भरतमणीलाई योगेशले भोटका लागि अपिल नै गरेका छन् ।

उनले यसअघि नै आफ्नै पहलमा ६ लाख रुपैयाँको पुरस्कारको घोषणा गरिसकेका छन् । उक्त पुरस्कार कमेडी च्याम्पियनको सेटबाट बाहिर आएपछि हस्तान्तरण गर्ने बताइएको छ । ‘पहिलो सिजनमा पनि प्रतिस्पर्धीलाई नेताहरुले सहयोग नगरेका होइनन् । तर, यो वर्ष नेताहरुले खुलेरै सहयोग गरे,’ निर्देशक विशाल भन्छन् । भरतमणीले अघिल्लो हप्ता पूर्व युवराज पारस शाहको हुबहु क्यारिकेचर गरेपछि कमेडी च्याम्पियन सिजन–२ को थप हाइप बढेको छ । भरतमणीले शाहको गेटअपसहित नक्कल गरेका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतवार ०९:०८