सूचनाको शक्ति - The Power Of Information

        

पेरूका कम्युनिष्ट नेता गोन्जालोको जेलमै मृत्यु

पेरु । पेरुका क्रान्तिकारी नेता अबिमाइल गुज्मनको निधन भएको छ । पेरू क्रान्ति तथा माओवादी आन्दोलन ‘साइनिङ पाथ’का नेता तथा संस्थापक गुज्मनको ८६ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका उनको पेरुको कायालो क्षेत्रको सैन्य जेलमा स्थानीय समयअनुसार शनिबार बिहान मृत्यु भएको हो । आतंकवाद र देशद्रोहको अभियोगमा उनी सन् १९९२ देखि आजीवन काराबास सजाय भोगिरहेका थिए ।

उनी छालाको क्यान्सरबाट पीडित रहेका थिए । दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका गुज्मनलाई गत जुलाईमा स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि उनलाई जेलबाट अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका उनको ८६ वर्षको उमेरमा शनिबार बिहान मृत्यु भएको पेरुका न्याय मन्त्री अनिबल टोरेसले जानकारी दिएका छन् । पेरु माओवादी आन्दोलन ‘साइनिङ पाथ’ का नेता गोन्जालो सन् १९९२ राजधानी लिमाबाट गिरफ्तारीमा परेका थिए ।

आतंक फैलाएका आरोपमा सरकारले उनलाई आजीवन जेल सजाय दिएको थियो । गोन्जालो दर्शनशास्त्रका प्राध्यापकसमेत हुन् । पेरुमा माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबीच दशक लामो समय चलेको युद्धका क्रममा झन्डै ७० हजार मानिस मारिए/बेपत्ता भए ।

गुज्मन पक्राउ परेपछि साइनिङ पाथलाई ठूलो धक्का लागेको थियो । तर अझै उक्त समूहका केही सदस्य सक्रिय छन् । गज्मनको जन्म सन् १९३४ को डिसेम्बर पेरुको दक्षिणी तटीय क्षेत्रमा पर्ने मोलेन्दो बजार नजिकै भएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतवार ०८:११