सूचनाको शक्ति - The Power Of Information

        

अपराध

बालबालिकालाई चोरीमा संलग्न गराउने समूह सक्रिय, प्रहरीको सूक्ष्म निगरानी

बाँके । भारतबाट आएको एउटा समूहले बालबालिकालाई चोरीमा संलग्न गराएको आशङ्का प्रहरीले गरेको छ । कोहलपुरका विभिन्न ठाउँमा पाल टाँगेर बसेको भारतीय समूहमा रहेका बालबालिकाले सार्वजनिक बसलगायत विभिन्न ठाउँमा चोरी गरेको फेला परेपछि यस्तो आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले बालबालिकाबाट एक लाख रुपैयाँभन्दा बढी रकम र सुनका गरगहनासमेत बरामद गरेकाले ती बालबालिकालाई चोरीमा प्रयोग गर्ने गरिएको आशङ्का गरिएको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । उनले मजदुरी गर्ने, विभिन्न खालका सामान बेच्ने तथा मागेर खाने मानिसको समूहले नै त्यस्तो गर्ने गरेको हुनसक्ने बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुरमा एउटा समूह पाल नै टाँगेर बसेको छ । उनीहरूको समूहमा रहेका बालबालिकाले बसमा यात्रा गर्ने र यात्रुहरूको पैसा तथा गरगहना चोरी गर्ने गरेको प्रहरीले फेला पारेको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रवीन्द्र खनालले बाल बिज्याइँ भएकाले सोही कानुनी व्यवस्थाअनुसार अनुसन्धान भइरहेको जानकारी दिए ।

‘हामीले भारतबाट आई पाल टाँगेर बसेका व्यक्तिहरूमाथि सूक्ष्म तरिकाले निगरानी गरिरहेका छौँ,’ उनले भने । कोहलपुरमा पाल टाँगेर बसेको समूहले जथाभावी फोहोर गरेको भनेर स्थानीयवासीले उनीहरूलाई त्यहाँबाट हटाउन माग पनि गरिरहेका छन् । चोरीका घटनाहरू बाहिर आएपछि स्थानीयवासीले उनीहरूबाट असुरक्षाको महसुस पनि गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतवार ०७:४८