सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

ओलीप्रति आक्रामक बन्दै नेपालगन्जमा यसरी गर्जिए माधव नेपाल

बाँके । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष ओलीप्रति आक्रामकरुपमा प्रस्तुत हुँदै शनिबार नेपालगन्जमा गर्जिएका छन् । उनले केपी ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाए ।

शनिबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको दक्षिणपन्थी गठबन्धन सबै उपलब्धिलाई तुहाउन चाहनेको गठबन्धन भएको आरोप पनि लगाए ।

उनले आफूहरूको सत्तारूढ गठबन्धन भने मुलुक निर्माणका लागि भएको जिकिर गरे । एमालेका अध्यक्ष ओलीप्रति आक्रामक देखिएका एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीमा क्रान्तिकारी ज्वाला निभिसकेको बताए ।

अध्यक्ष नेपालले एमालेलाई ओलीको निजी कम्पनीको रूपमा परिणत गरिएको आरोप लगाए । उनले देशमा पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन र केपी ओलीको एमाले, राप्रपा लगायतको दक्षिणपन्थी गठबन्धन गरेर दुईवटा गठबन्धन रहेको जनाए ।

अध्यक्ष नेपालले दक्षिणपन्थीहरु विस्तारै विलाएर जाने दाबी गरे । अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीको गठनसँगै देशभर नयाँ तरंग फैलिएको समेत उनले दाबी गर्दै कुर्सी र सत्ताका लागि जे पायो त्यही गर्ने काम आफूहरुबाट नहुने जिकिर गरे ।

एमाले केपी ओलीको निजी कम्पनीमा परिणत भएपछि आफूहरुले नेकपा एकिकृत समाजवादी गठन गरेको उनले बताए । संविधान, व्यवस्था र संघीयता समाप्त गर्ने षडयन्त्र गरिएपछि सो जोगाउन बनेको पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचन र त्यसपछि पनि कायम रहने बताए ।

अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी पार्टी देशकै ठूलो पार्टी बन्ने दावीसमेत गरेका छन् । विदेशीसँग लम्पसार भएर आफू सत्तामा टाँसिरहनका लागि एमाले अध्यक्ष केपी ओलीले दुई पटक प्रतिनिधिसभा भंग गरेको आरोप लगाउँदै अध्यक्ष नेपालले ओलीले संघीयतासमेत समाप्त पार्ने षडयन्त्र गरेको बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार १८:१७