सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘एमसीसी परियोजना अस्वीकार्य’

बाँके । पार्टी गठनपछि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाल पहिलो पटक काठमाडौं बाहिर नेपालगन्जको कार्यक्रममा सहभागी भएका छन् । नेपालगन्जमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी परियोजना स्वीकार्य नभएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा शनिवार नेपालगन्जमा आयोजित भेलाको उद्घाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव नपार्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार नगरिने बताएका छन् ।

उनले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताए । ‘हामीले एमसीसीका उपाध्यक्षलाई प्रष्टसँग भनेका छौंं, यो परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार गर्दैनौं,’ आफ्नो दल र आफूहरुले देशको सुरक्षामा आँच आउने कुनै सम्झौताको समर्थन नगर्ने बताउँदै अध्यक्ष नेपालले भने ।

देशमा पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन र केपी ओलीको एमाले, राप्रपा लगायतको दक्षिणपन्थि गठबन्धन गरेर दुईवटा गठबन्धन रहेको जनाउँदै उनले दक्षिणपन्थीहरु विस्तारै विलाएर जाने दाबी गरे । नेपाल र नेपाली जनताको हितमा रहने सबै प्रकारका अन्तराष्ट्रिय सन्धि सम्झौताहरुको सम्मान गर्दै आएको र गर्ने जनाउँदै उनले कुर्सी र सत्ताका लागि जे पायो त्यही गर्ने काम आफूहरुबाट नहुने जिकिर गरे ।

संविधान, व्यवस्था र संघीयता समाप्त गर्ने षडयन्त्र गरिएपछि सो जोगाउन बनेको पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचन र त्यसपछि पनि कायम रहने बताए । विदेशीसँग लम्पसार भएर आफू सत्तामा टाँसिरहनका लागि एमाले अध्यक्ष केपी ओलीले दुई पटक प्रतिनिधिसभा भंग गरेको आरोप लगाउँदै अध्यक्ष नेपालले ओलीले संघीयतासमेत समाप्त पार्ने षडयन्त्र गरेको बताए ।

नेकपा एमाले केपी ओलीको निजी कम्पनीमा परिणत भएपछि आफूहरुले नेकपा एकिकृत समाजवादी गठन गरेको जनाउँदै अध्यक्ष नेपालले यो पार्टीको गठनसँगै देशभर नयाँ तरंग फैलिएको समेत उनले दाबी गरे । कार्यक्रममा युवा संघका केन्द्रिय अध्यक्ष नरेशकुमार साही, पूर्वमन्त्री दलबहादुर सुनार, युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा लगायत केन्द्रिय सदस्यहरुले पनि एकिकृत समाजवादी पार्टी देशकै ठूलो पार्टी बन्ने बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार १७:२५