सूचनाको शक्ति - The Power Of Information

        

सल्यानमा भौतिक उपस्थितिमै पठनपाठन

फाइल तस्वीर

सल्यान । यहाँका विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरेका छन् । कोभिड–१९ को सङ्क्रमण दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै सल्यानका स्थानीय तहहरूले भौतिक रूपमै विद्यालय सञ्चालन गरेका हुन् ।

जिल्लामा सञ्चालित सामुदायिक र संस्थागत सबै विद्यालयले स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी अहिले भौतिक रूपमा कक्षा सञ्चालन गरेका छन् । शारदा नगरपालिका शिक्षा शाखा प्रमुख लीलाधर बवालले ग्रामीण क्षेत्रमा इन्टरनेटको सहज पहुँच नहुँदा वैकल्पिक माध्यमबाट पढाउन समस्या आएपछि भौतिक रूपमै कक्षा सञ्चालन गर्ने निर्णय भएको बताए ।

त्रिवेणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख दलबहादुर रानाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन गर्नसक्ने अधिकार स्थानीय तहलाई दिएसँगै कोरोनाको जोखिमलाई ध्यान दिँदै भौतिक रूपमा विद्यालय सञ्चालन भएको बताए । उनका अनुसार कोभिडको जोखिम कहिलेसम्म रहने टुङ्गो नभएको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर भौतिक रूपमा कक्षा सञ्चालन गर्न सहजीकरण गरिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका लालबहादुर घर्तीले १० स्थानीय तह रहेको जिल्लामा शारदा नगरपालिका, त्रिवेणी, छत्रेश्वरी र कपुरकोट गाउँपालिकाले भौतिक रूपमा कक्षा सञ्चालन गर्न परिपत्र गरेको बताए । यस जिल्लामा सामुदायिक र निजी गरेर पाँच सयभन्दा बढी विद्यालय छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार ०९:०९