काठमाडौं । नेपाल प्रहरीले अस्ति बुधवार ५ हजार २२७ जना सिपाहीको लिखित तथा अन्तर्वार्तामा उत्तिर्ण नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रतिस्पर्धामा भिडेर उनीहरुले नाम निकालेको स्वयम् प्रहरीले बुधबार जारी गरेको सूचनामा समेत उल्लेख छ ।
तर, प्युठानका काँग्रेस उपसभापति बद्री लम्सालले आफ्नो फेसबुक पेजमा हिजो उक्त परीक्षामा आफ्नो अनुरोध र गृहमन्त्री बालकृष्ण खाँणको सिफारिसमा ४१ जनाको नाम निकालिएको सगर्व लेखेका छन् । खुला प्रतिस्पर्धामा छनौट भएका भनिएका ती प्रहरीमध्ये कति जना ठूलाबडा क–कसको सिफारिसमा परेका हुन् भन्ने विषयलाई पनि लम्सालले छर्लङ्ग बनाइदिएका छन् ।
गृहमन्त्री खाँण निकट मानिएका उपसभापति लम्सालले चुनावी दाउपेचको लागि सहयोग पुर्याउने उद्देश्यसहित आफ्नो सिफारिसमा उत्तिर्ण भएका भनिएका व्यक्तिको नाम सबै सामाजिक सञ्जालमा छरपष्ट पारिदिँदा तिनको भविष्य के होला ? अनि तिनले कस्तो शान्ति, सेवा, सुरक्षणम कायम गर्लान् ?
नेपालको संविधान २०७२ लागु भएपश्चात् सबै संगठित संस्थाको लिखित तथा अन्तरवार्ता परीक्षा लोकसेवा आयोगको प्रत्यक्ष सहभागितामा मात्र हुने व्यवस्था छ । तर, नेपाल प्रहरीमा हालै भएको सिपाहीको परीक्षामा खुलमखुल्ला काँग्रेस नेताले आफ्नो अनुरोध र गृहमन्त्रीको सिफारिसमा ४१ जनाको नाम उत्तिर्ण गराएको जनाउनुले निष्पक्ष भूमिकामा रहनुपर्ने संवैधानिक अंगको समेत धज्जी उडेको छ । (जनआस्थाबाट)
।