सूचनाको शक्ति - The Power Of Information

        

अपराध

‘एक घण्टासम्म प्रतिकार गरेपछि बलात्कृत हुनबाट जोगिए’

‘मलाई बलात्कार गर्न खोज्यो । म आफै प्रमाण हो भन्दा पनि उजुरी दर्ता हुँदैन,’ पीडित महिलाले भनिन् ।

बाँके । प्रतिकार गरेर बलात्कृत हुनबाट जोगिएकी महिलाले न्याय नपाउँदा कति पीडा बोध हुँदो हो ? त्यसको भुक्तभोगी हुन कोहलपुरकी ३९ वर्षीया महिला । न्यायकै लागि उनी एक वर्षदेखि भौतारिरहेकी छन् ।

‘मलाई घर छोडिदिन्छु भनेर गाडीमा राख्यो । गाडीको ढोका बन्द गरेर कोहलपुरबाट बानियाभार जंगलमा पुर्याएर गाडीभित्रै बलात्कार प्रयास गर्यो,’ पीडित महिलाले भनिन्, ‘तर उसलाई सजाय भएन । प्रहरीले बलात्कारको घटनालाई अर्कै मुद्दा बनाइदियो ।’

उनका अनुसार ०७७ असार २१ गते राति ८ बजेको समयमा नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर मोहनकुमार माझीले ती महिलालाई आफ्नै गाडीमा राखेर बलात्कारको प्रयास गरेका थिए ।

महिलाले एक घण्टासम्म प्रतिकार गरेपछि बलात्कृत हुनबाट जोगिएकी थिइन् । उक्त घटनापछि उनले इन्सुरेन्स कार्यालयमै पुगेर जानकारी गराएकी थिइन् । त्यसलगत्तै इलाका प्रहरी कार्यालयमा बलात्कारको प्रयासको मुद्दा दर्ता गर्न जाहेरी लिएर पुगेकी थिइन् ।

तर प्रहरीले बलात्कार प्रयास गरेको प्रमाण खोई भन्दै उजुरी लिन इन्कार गरेको पीडित महिलाले बताइन् । ‘मलाई बलात्कार गर्न खोज्यो । म आफै प्रमाण हो भन्दा पनि उजुरी दर्ता हुँदैन,’ पीडित महिलाले भनिन् ।

घटना भएको केही दिनपछि कोहलपुर प्रहरीले बलात्कार प्रयासको जाहेरीलाई अभद्र व्यवहार मुद्दा भन्दै दर्ता गरेको थियो । बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पक्राउ पुर्जी जारी गरेका थिए ।

तर प्रहरीले पीडक माझीलाई पक्राउ नै नगरी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझायो । पीडित महिलाको बयानसमेत राम्रोसँग नगराइएका कारण जिल्ला प्रशासन कार्यालयले पीडकलाई ५ हजार धरौटीमा छोडेको छ ।

‘महिलालाई बलात्कारको मुद्दा दर्ता हुँदैन । अर्कै मुद्दा दर्ता गरेर छोडिन्छ,’ पीडित महिलाको आक्रोश छ । बलात्कारको प्रयासका आरोपित माझीले जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार मुद्दामा तारेखमा रहेको बताए । उनले घटना भएको दिन आफू कोहलपुर नभएको दाबी गरे । तर उनले बलात्कार प्रयास गरेको आरोपको प्रतिकार गरेनन् ।

‘प्रशासनमा मुद्दा छ । मेरो अफिसले, प्रशासनले जे कारबाही गर्छ त्यही अनुसार अगाडि बढ्ने भनेको छ,’ उनले भने । जिल्ला प्रशासन कार्यालय बाँकेका मुद्दा फाँटका प्रमुख टेकबहादुर भण्डारीले प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएकाले कम धरौटीमा छाडिएको बताए ।

‘यो मुद्दामा एक वर्षसम्म कैद हुने व्यवस्था छ । तर एक वर्ष सजाय हुने पनि धरौटीमा छुट्न सक्छन्,’ उनले भने, ‘बलात्कार प्रयास मुद्दाबारे जानकारी भएन । त्यस्तो मुद्दा अदालतमा चल्ने हो ।’ पीडित महिलाका अनुसार घटनाका दिन माझीले कोहलपुरको चटार जाने रोडमा आएर अभिकर्ताको डकुमेन्ट लिन बोलाए ।

महिलाले ८ बजिसकेको भन्दै भोलि लिन बताइन् । तर माझीले भोलि अन्तै जानु छ अहिले आउनुस् भन्दै कर गरेपछि अभिकर्ताको कागज लिन पुगेको उनले बताइन् । ‘अभिकर्ताको कागज लिएपछि म घर हिँडे । उसले मलाई घरसम्म छोडिदिन्छु भन्दै गाडीमा बस्न भन्यो,’ उनले भनिन् ।

उनले थप अगाडी भनिन्, ‘गाडीको ढोका र शिशा लक गरेर गाडी कुदायो । म रोक्नुस् रोक्नुस् भन्दै कराएँ । तर उसले गाडी नरोकेर बानियाभार जंगलसम्म लग्यो । अनि गाडीमै बलात्कार गर्न खोज्यो । एक घण्टा प्रतिकार गरेर जोगिए ।’

पीडितका तर्फबाट कानुनी सहयोग गरिरहेका अधिवक्ता बसन्त गौतमले अभद्र व्यवहार मुद्दामा पनि प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको आरोप लगाए । उनले मुद्दाको अनुसन्धान राम्रोसँग नहुँदा पीडित थप पीडित हुनु परेको बताए । इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र खनालले उक्त मुद्दा आफ्नो पालाको नरहेको भन्दै अभद्र व्यवहार मुद्दामा पनि सजाय हुन सक्ने जनाए ।

ठाकुरसिंह थारु/ईकान्तिपुरबाट

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १२:००