बाँके । बाँकेको कोहलपुरमा जिल्लाकै पहिलो आधारभूत अस्पताल सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका वडा नंं.२ स्थित सुविधा सम्पन्न भवनमा आधारभूत अस्पताल सञ्चालनमा आएको हो ।
कोभिड १९ को तेस्रो लहरको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अस्पताल सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसीले जानकारी दिए । उनका अनुसार कोभिड–१९ महामारीको सम्भावित तेस्रो लहरलाई मध्यनजर गरी १५ शैय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको हो ।
कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोभिडका बिरामीलाई लक्षित गरी अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिए । कोहलपुर नगरपालिका–२ मा सञ्चालन आएको आधारभूत अस्पतालले २४सै घण्टा सेवा दिने जनाएको छ । ओपीडीमार्फत बिरामी जाँच, औषधि उपचार र बिरामी भर्ना सेवा सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले बताए ।
उनले अक्सिजनसहितको सेवा सुरु गरिएको जनाउँदै नेपाल सरकारको ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’ नीतिअनुसार नगरपालिकाले जिल्लामै पहिलो १५ शैय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको बताए । उक्त अस्पताल सञ्चालनका लागि मेडिकल अधिकृत, स्टाफ नर्स र पारामेडिक्स दुई–दुई जना तथा एक जना ल्याब टेक्निसियन र ल्याब असिस्टेन्टको व्यवस्था गरिएको छ ।
आवश्यकता अनुसार रेडियोग्राफर र अन्य स्वास्थ्यकर्मी थप्दै जाने नगरपालिकाले जनाएको छ । आधारभूत अस्पतालका लागि अत्याधुनिक भवन निर्माणको काम भने जारी नै रहेको छ । अहिले कोहलपुर नगरपालिका कोभिड–१९ को रेड जोनमा रहेको छ । कोहलपुर नगरपालिकाभित्र झण्डै एक सय जना कोरोना संक्रमित रहेका छन् । अस्पताल नहुँदा यसअघि कोरोना संक्रमितको उपचारमा समस्या भएको थियो ।
आधारभूत अस्पताल सञ्चालनमा आएसँगै अबदेखि कोहलपुरमा कोेरोना संक्रमितको उपचारमा सहज हुनेछ । ‘कोभिडका विरामी नआउँदासम्म ओपिडी सेवा सञ्चालन हुनेछ । जटिल खालका विरामी आए भर्ना गरेर उपचार गर्छौं,’ प्रमूख प्रशासकीय अधिकृत केसीले भने । आधारभूत अस्पतालमा आउने विरामीलाई राम्रो ब्यवहार गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशनसमेत दिइएको छ ।
उनले अस्पताललाई चाहिने दक्ष जनशक्ति तथा उपकरण राखिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत केसीले भने, ‘अक्सिजन चाहिने विरामीका लागि एक बेड एक अक्सिजनको ब्यवस्था गरेका छौं ।’ अस्पतालमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई नगरपालिकाकै आन्तरिक श्रोतबाट तलब, भत्ता खुवाइने पनि उनले बताए । उनले भदौ २४ गतेदेखि अस्पतालले नियमित सेवा सञ्चालनमा ल्याएको जानकारी दिए ।
।