बाँके । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन’ भन्ने मूल नारासहित नरैनापुर गाउँपालिकाले निजामती सेवा दिवस, २०७८ मनाएको छ । दिवसका अवसरमा वडा नं. ६ कोहलामा वृक्षारोपण कार्यक्रम गरेको छ ।
नरैनापुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष एवं वडा नं. २ का वडाध्यक्ष मसुद अहमद शाह र गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतको नेतृत्वमा कोहलास्थित सन्तानेश्वर महादेव जाने बाटोमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।
सूचना अधिकारी मिश्राका अनुसार राष्ट्रसेवक कर्मचारी वृक्षारोपण राष्ट्रिय अभियान अन्तरगत पिपल, गुलमोहर, लिची, आँप, जामुन, सुपारी लगायतका विभिन्न जातको एक सयभन्दा बढी वृक्षहरू वृक्षारोपण गरिएको छ । कार्यक्रममा गाउँपालिकाका कार्यबाहक अध्यक्ष शाहले रोपिएका वृक्षको संरक्षणमा ध्यान दिन स्थानीयहरुलाई आग्रह गरे ।
वृक्षारोपण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बस्नेतले वृक्षारोपण गरिएका विरुवाहरुलाई हुर्काउन स्थानीयहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, ‘रोपिएका विरुवालाई राम्रोसँग रेखदेख गरि सतप्रतिशत बिरुवा हुर्कुनुपर्दछ । यसका लागि स्थानीय नागरिकहरुको जिम्मेवारी महत्वपूर्ण हुन्छ ।’
निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रशासन, योजना तथा अनुगमन शाखा प्रमूख विजयकुमार यादव, महिला, बालबालिका तथा सामाजिक सुरक्षा शाखा प्रमूख कृष्णाकुमारी चन्द, प्रशासन, योजना, जिन्सी इकाई प्रमूख भरत महतो लगायत निजामती कर्मचारीहरुको सहभागिता रहेको थियो ।
।