सूचनाको शक्ति - The Power Of Information

        

नयाँ दलमा सनाखत गर्ने आज अन्तिम दिन

प्रदेशमा २२ प्रतिशत सांसद एकीकृत समाजवादीतिर, लुम्बिनी र गण्डकीमा कमजोर

काठमाडौं । गण्डकीमा एक जना पनि प्रदेश सांसद नेकपा एकीकृत समाजवादीमा गएनन् । लुम्बिनीमा जम्मा एक जनाले सनाखत गरेका छन् । बाँकी पाँच वटा प्रदेशमा भने नयाँ पार्टीको अवस्था बलियो देखिएको छ । पाँचै प्रदेशमा गरेर सोमबार बेलुकासम्म ५१ जना प्रदेश सांसद एकीकृत समाजवादी पार्टीमा खुलेका छन् । सुदूरपश्चिममा सबैभन्दा ठूलो दल बन्दा एकीकृत समाजवादी प्रदेश २ मा एमालेभन्दा ठूलो दल बनेको छ ।

सातै प्रदेशमा गरेर एमालेले २३२ प्रदेश सभा सदस्य जितेको थियो । एमालेबाट प्रदेश १ बाट ५१, प्रदेश २ मा २१, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा २७, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २५ सांसद थिए । तर, एमालेका २२ प्रतिशत प्रदेश सांसद तान्न अध्यक्ष नेपाल सफल भएका छन् । निर्वाचन आयोगले नयाँ दलमा सनाखतका लागि आज २२ गतेसम्मको समय दिएको छ ।

अध्यादेश ल्याएको २१ दिनभित्र दल परिवर्तन गरे प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको पद नजाने आयोगको निर्णय छ । जसअनुसार मंगलबार एक दिनको समय बाँकी छ । सरकारले भदौ १ गते राजनीतिक दल विभाजनको व्यवस्था खुकुलो पार्दै अध्यादेश ल्याएको थियो । एकीकृत समाजवादीमा खुल्ने प्रदेशका सांसदहरुको संख्या यकिन भएपनि स्थानीय तहको पूर्ण विवरण आइसकेको छैन ।

स्थानीय तहमा पनि मेयर, प्रमुखभन्दा बढी वडाअध्यक्ष, वडासदस्य एकीकृत समाजवादी पार्टीमा खुलेका छन् । बागमती प्रदेशका १३ सांसद नयाँ पार्टीमा खुलेका छन् । थप दुई जना आउने दाबी एकीकृत समाजवादीका नेताहरुको छ । काभ्रे, ललितपुर, धादिङ, मकवानपुर, चितवन, दोलखा लगायतका जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले समाजवादी पार्टीमा सनाखत गरेको भए पनि संख्या स्पष्ट छैन । काभ्रेबाट ६० जनाले सनाखत गरेका छन् ।

सो पार्टीका प्रदेश सांसद लक्ष्मण लम्सालले आफूहरुलाई थप स्थानीय तहका जनप्रतिनिधिको समर्थन रहेको तर पदावधि ६ महिना मात्र रहेकाले तिनले सनाखत नगरेको दाबी गरे । ‘उहाँहरुले नयाँ पार्टीमा छु भन्नुभएको छ, स्थानीय जनप्रतिनिधिको अब काम गर्ने समय ६ महिनाभन्दा बढी नभएकोले खुलिहाल्न सक्नुभएन,’ लम्सालले भने, ‘उहाँहरुले सहयोग हामीलाई नै गर्नुभएको छ ।’

संसदमा जस्तै स्थानीय तह र प्रदेशमा पनि एकीकृत समाजवादी बलियो शक्ति बनेको सो पार्टीको केन्द्रीय कार्यालयका प्रमुख गंगालाल तुलाधरले बताए । ‘एमालेमा माधव नेपाल समूहलाई २० प्रतिशत पनि टिकट दिइएको थिएन,’ सो पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘त्यसमा अधिकांश साथीहरु हामीतिरै खुल्नुभयो । बाँकी जोगाउने प्रयास जारी छ । संसदमा जति प्रतिशत छ, देशभर हाम्रो संख्या त्यसबाट घट्दैन ।’

समाजवादीमा प्रदेश १ मा अहिलेसम्म १० जना सांसदले सनाखत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, योगेश भट्टराई, सुवास नेम्वाङ, वसन्त नेम्वाङ लगायतका चल्तापुर्जा नेताहरु भएको सो प्रदेशमा एकीकृत समाजवादीले स्थानीय जनप्रतिनिधिबाट उत्साहजनक साथ पाएको इन्चार्ज घनेन्द्र बस्नेतले बताए । १४ वटा जिल्ला रहेको प्रदेश १ मा वरिष्ठ नेता झलनाथ खनालको जिल्ला इलाममा सो पार्टी सबैभन्दा बलियो देखिएको छ ।

सोमबारसम्म खनालको निर्वाचन क्षेत्रका झण्डै ६० जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन् । सोमबारसम्म प्रदेश २ मा १३ जना प्रदेश सांसद एकीकृत समाजवादीमा खुलिसकेका छन् । बाँकी २ जना मंगलबारसम्म खुल्ने एक नेताले जानकारी दिए । प्रदेश २ मा साविकको एमालेका २१ प्रदेश सांसद थिए । त्यसमध्ये १५ जना माधव नेपालले गठन गरेको नयाँ पार्टीमा सनाखत गर्ने नेताहरु बताउँछन् ।

एकीकृत समाजवादीका प्रवास कमिटी इन्चार्ज श्रीप्रसाद साहका अनुसार प्रदेश २ का ८ वटा जिल्लामध्ये पर्सा र महोत्तरी बाहेकका सबै जिल्लामा एकीकृत समाजवादी बलियो अवस्थामा छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रदेश २ का चार सांसदले नयाँ पार्टी रोजेका छन् । कल्याणी खड्का, पुष्पा कर्ण, समिना खातुन र सरला यादव प्रदेश २ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद एकीकृत समाजवादी पार्टीमा खुलेका छन् ।

धनुषा, सप्तरी, सिरहा, रौतहट र बारामा आफ्नो पार्टी बलियो अवस्थामा रहेको साहले दाबी गरे । उनका अनुसार सप्तरीका गोविन्द न्यौपाने, सिरहाका प्रमोद यादव, रौतहटका कमलराय यादव र बाराका सुन्दर विश्वकर्मा एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष बनेका छन् । रौतहटका यादवबाहेक अन्य तीनै जना प्रदेश सांसद पनि हुन् ।

सोमबारसम्म सर्लाहीका ४४, सप्तरीका २९, सिरहाका ५७, धनुषाका ३७, महोत्तरीका २, रौतहटका ७८, बाराका ८ र पर्साका ३ स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । प्रदेश २ को पार्टी कमिटीमा एमालेभन्दा एकीकृत समाजवादी बलियो रहेको साहले बताए । एमालेको २०७५ जेठ २ गतेअघिको अवस्थामा रहेका २ सय ३ केन्द्रीय सदस्यहरुमध्ये सो प्रदेशबाट ३० जना चुनिएका थिए ।

‘त्यसमध्ये १५ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा खुल्नुभएको छ,’ साहले भने, ‘पार्टी कमिटीका बहुसंख्यक नेता हामीतिरै खुल्नुभएको छ । पार्टीबाट विद्रोह गरेका कारण केही क्षति त हामीलाई भएको छ नै, तैपनि प्रदेश २ मा एकीकृत समाजवादी पहिलो पार्टी बन्छ ।’ सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरेको कर्णाली प्रदेशमा सबैभन्दा पहिला एमाले विभाजन भएको थियो ।

२०७७ वैशाख ३ गते सो प्रदेशका ४ जना सांसदले पार्टी निर्देशनविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । सो प्रदेशका हुम्लाबाहेकका जिल्लामा एकीकृत समाजवादी पार्टीमा ठूलो संख्यामा जनप्रतिनिधि खुलेको प्रदेश इन्चार्ज प्रकाश ज्वालाले जानकारी दिए । ‘एमालेको अत्याधिक दमनका बाबजुद कर्णाली प्रदेशमा उत्साहजनक रुपमा जनप्रतिनिधिले सनाखत गरिहनुभएको छ,’ ज्वालाले भने, ‘अझै केही जिल्लामा थपिने जानकारी दिनुभएको छ ।’

सल्यानमा ७१, दैलेखमा ६०, कालिकोटमा ४६, जुम्लामा बहुसंख्यक र डोल्पामा ठूलोभेरीका मेयरलगायत केही गाउँपालिका अध्यक्ष, वडाध्यक्ष खुलेको ज्वालाले बताए । सुर्खेतका १३ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । सो प्रदेशमा निलम्बितसहित ७ प्रदेश सांसद नयाँ पार्टीमा खुलेका छन् । ‘सल्यान, रुकुम पश्चिम, डोल्पा, जुम्ला र मुगुबाट मंगलबार अझै केही जनप्रतिनिधिले सनाखत गर्नुहुन्छ, कर्णालीमा हामी बहुमतमा हुन्छौँ,’ ज्वालाले थपे ।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टीमा १३ जना सांसदले सनाखत गरिसकेका छन् । सांसद तारा लामाले जनाएअनुसार सो प्रदेशमा एकीकृत समाजवादी बलियो अवस्थामा छ । सोमबारसम्म १४ जनाले समाजवादी पार्टीमा सनाखत गरेका छन् । त्यो संख्या अझै बढ्ने उनले बताए ।

‘अहिलेसम्म १४ जना माननीयले एकीकृत समाजवादीमा सनाखत गर्नुभयो । एमालेमा रहेका २५ जनामध्ये १ जनाले मात्र एकीकृत समाजवादीमा आउदिनँ भन्नुभएको छ, अरु साथीहरु छलफलमै हुनुहुन्छ,’ लामाले भने, ‘२ जना त मन्त्री नै हुनुहुन्छ, १० जना साथीहरु जुनबेला पनि खुल्नसक्नुहुन्छ । अझै एक दिन समय छ ।’ नौ वटा जिल्ला रहेको प्रदेशमा ५२ प्रदेश सांसद छन् । माओवादी १३, कांग्रेस १२ र जनता समाजवादी पार्टीको २ जना सांसद छन् ।

१४ सांसद लिएर सुदूरपश्चिममा एकीकृत समाजवादी पहिलो पार्टी बनेको लामाले बताए । प्रदेश मात्र होइन स्थानीय तहमा पनि नयाँ पार्टी बलियो अवस्थामा छ । उनका अनुसार नौ वटा जिल्लाको स्थानीय तहमा अहिलेसम्म ५० जनाले एकीकृत समाजवादी रोजेका छन् । सुदूरपश्चिमको अछाममा एकीकृत समाजवादी निकै बलियो छ भने कञ्चनपुरमा निकै कमजोर । एमालेका उपाध्यक्ष भीम रावलले माधव नेपाललाई छाडेपछि अछामका ५ नेताले एमाले छाडेका छन् ।

अछामका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, प्रदेश सांसद मीनाकुमारी साउद, साँफेबगर नगरपालिकाका इन्चार्ज सिलोज कुँवर, मेयर कुलबहादुर कुँवर र चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउद एकीकृत समाजवादीमा लागेका छन् । कञ्चनपुरमा नेपालले धक्का बेहोरेका छन् । ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटामा प्रमुख र ७ वटामा उपप्रमुख जितेको थियो । तीमध्ये पुनर्वास नगरपालिकाका मेयर जीवन थापा मात्रै एकीकृत समाजवादीमा खुले ।

दोधारा–चाँदनी नगरपालिकाकी उपमेयर चिनी गिरी सोमबारसम्म कतै खुलेकी छैनन् । कैलालीका ५२ जनाले समाजवादी रोजेका छन् । डडेल्धुरा, बैतडी, बझाङमा एकीकृत समाजवादी पक्षमा सनाखत हुने क्रम जारी छ । बाजुरा र दार्चुलामा भने एकीकृत समाजवादी भन्दा एमाले बलियो अवस्थामा छ । डोटीमा अहिलेसम्म एक जना प्रदेश सांसदले समाजवादी रोजेकी छन् ।

समाजवादी पार्टीका कार्यालय मुख्यसचिव गंगालाल तुलाधरले देशभर ध्रुवीकरणको प्रक्रिया तीव्र भइरहेको बताए । लुम्बिनी र गण्डकीमा पार्टी सोचेभन्दा कमजोर बनेको उनले स्वीकार गरे । ‘तर, देशभरको अवस्था हेर्दा हामीलाई उत्साह जगाएको छ, अझैसम्म खुल्ने साथीहरुको आधारमा नयाँ कार्यक्रम र योजना अघि सार्छौँ,’ तुलाधरले भने, ‘कमजोर रहेका जिल्ला र प्रदेशमा हामी बलियो हुनेगरी काम गर्छौँ ।’

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार ०८:१९