सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

एड्स रोगीमा कोरोनाको असर कम !

नयाँ दिल्ली । एड्स रोगीमा कोरोना संक्रमणको असरबारे भारतको राम मनोहर लोहिया अस्पतालमा गरिएको अध्ययनको नतिजा आश्चर्यजनक आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमण भए पनि यसका कारण एड्स रोगी मृत्यु हुने दर एकदमै कम ०.०२५ प्रतिशत देखिएको हो ।

दिल्लीमा कोरोना संक्रमितको कूल मृत्यु दर भने १.७५ प्रतिशत छ । यस विषयमा चिकित्सकसमेत चकित परेका छन् । कोरोना भाइरसको व्यवहार अझै रहस्यमय देखिएको उनीहरूको भनाइ छ । धेरैजसो चिकित्सक कोरोना भाइरसबारे अझै विस्तृत अध्ययनको खाँचो औंल्याउँछन् ।

यसपछि मात्र एड्स रोगीमा कोरोनाले कम असर गरेको कुरा पत्ता लाग्ने उनीहरूको भनाइ छ । यसअघिको अध्ययनले कोरोना संक्रमणबाट त्यस्ता व्यक्तिलाई बढी जोखिम हुने देखाएको छ, जो पहिले गम्भीर रोगले ग्रस्त छन् । यस्तै एड्सजस्ता रोग प्रतिरोधक क्षमता नष्ट पार्ने रोग भएका मानिसलाई पनि कोरोनाको जोखिम निकै हुने अध्ययनले देखाएको थियो ।

तर माथि उल्लिखित अस्पतालको डेथ कमिटीको रिपोर्टअनुसार एचआईभीको उपचार गराइरहेका झन्डै ८ हजार बिरामीमध्ये ४ हजार ५०० जनलाई कोरोना संक्रमण भएको थियो । यिनीहरूमा संक्रमण दर ५० प्रतिशत नजिक पुगिसकेको थियो । पूरै दिल्लीको संक्रमण दर भने ३५ प्रतिशत थियो ।

चिकित्सकका अनुसार सामान्य मानिसको तुलनामा एड्सका बिरामी धेरै जना संक्रमित भएका थिए, तर उनीहरू मृत्युको जोखिमसम्म पुगेनन् । दिल्लीमा अहिले पनि कोरोना संक्रमितको मृत्यु दर १.७४ छ । संक्रमण तीव्र भएका बेला त यसको दर १० प्रतिशतसम्म पुगेको थियो । यसको उल्टो एड्स बिरामीमा भने यसको प्रतिशत ०.२५ रह्यो ।

जम्मा दुई जनाको कोरोनाका कारण मृत्यु भयो । यसबाट एड्स रोगीमा कोरोना महामारीको धेरै प्रभाव नपरेको देखिएको चिकित्सकको भनाइ छ । आरएमएल अस्पतालका मेडिसिन विभागका डा.पुलिनकुमार गुप्ताका अनुसार सुरुमा कोरोनाले एड्स रोगीमा बढी जोखिम देखिएको थियो र मृत्यु दर पनि धेरै हुने अनुमान गरिएको थियो । तर त्यस्तो भएन ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार ०८:०५