काठमाडौं । केही दिनदेखिको झरी शनिबार साँझसम्म परिरहने भएको छ । आइतबार बिहानबाट मौसम केही खुल्ने वरिष्ठ मौसमविद् निराजन सापकोटा बताउँछन् । ‘विहान पानी पर्ने दिउँसो केहीबेर रोकिने र पुनः पर्ने तथा अपराह्न ४÷५ बजेदेखि कम हुने क्रम जारी रहनेछ,’ मौसमविद् सापकोटा भन्छन् ।
उनका अनुसार यो क्रम शनिबार साँझसम्म नै रहन्छ । आइतबारबाट मात्रै मौसम खुल्ने उनले बताए । सापकोटाका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण वदली रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
सापकोटाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका कही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उनका अनुसार प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।
काठमाडौंमा पनि आज दिउँसो पानी पर्ने र रोकिने क्रम चलिरहने उनले बताए । आज राति देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको उनले बताए ।
उनले पहाडी क्षेत्रमा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन उनको अनुरोध छ । ‘केही दिनदेखिको झरीका कारण गलेको जमिन सामान्य पानी पर्दा पनि पहिरो जाने र गेग्रान बग्ने सम्भावना भएकाले अझै केही दिन सतर्क रहनुपर्नेछ,’ सापकोटाले भने ।
उनका अनुसार माटो भिझिसकेकाले सानो पानी पर्दा पनि बाढी आउने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुले सतर्क हुनुपर्छ । हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहनुका साथै देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेको छ ।
।