काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जनगणनाको संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । प्रस्तावअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।
कार्यतालिका अनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्नेछन् ।
त्यसपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । यस्तै बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण सहायतास्वरूप करिब रु पाँच अर्ब ५४ करोड बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय विकास संस्थामार्फत नै नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि करिब रु पाँच अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी बैठकले जलवायु परिवर्तनसम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपाल सदस्यका रूपमा सहभागी हुने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८–०८९ का लागि विभिन्न आयोजनाका लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरिएको छ ।
निजामती सेवा दिवसका अवसरमा विभिन्न ४० निजामती कर्मचारीलाई पुरस्कार दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । दार्चुलाको व्यास गाउँपालिकाको छाङ्ग्रुमा स्थापना भएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बस्ने ब्यारेक भवन निर्माण गर्ने निर्णय पनि बैठकले गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीले बताए ।
।