बाँके । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा जाँचलाई चुनौती दिँदै जुत्ताको तलुवामा सुन राखेर नेपालगन्ज पुगेका दुई जनाको लहरोले धेरै सुन व्यवसायीको निदहराम हुने संकेत देखाएको छ । विशेष सूचनाका आधारमा जुत्तामा सुन लुकाएर नेपालगन्ज पुगेको दुई जना पक्राउ परेसँगै गैरकानुनीरुपमा हुण्डी र व्यक्तिगत खातामा पैसा पठाएर हुँदै आएको सुन तस्करीको पर्दा खुल्न थालेको हो ।
सामान्य सुन पसल गरेको दुई/चार वर्ष नपुग्दै अथाह पैसा कमाएका सुन व्यवसायीहरुमाथि सरकारबाट खासै अनुसन्धान नभईरहेका बेला पछिल्लो चार किलो बढी सुन प्रकरणले ‘लहरो तान्दा पहरो भत्कने’ संकेत देखा परेको हो । पक्राउ परेका व्यक्तिहरुबाट बरामद भएको सुनको बिल बिजकका आधारमा नेपालगन्जका सुन व्यवसायीहरुले लामो समयदेखि सुनको अवैध कारोबार गर्दै आएको खुलेको राजश्व अनुसन्धान स्रोतहरुले उल्लेख गरेका छन् ।
तस्करीमार्फत सुन ल्याउने घटनामा पक्राउ परेका व्यक्तिहरुको राजश्व अनुसन्धानका अधिकारीहरुले शुरु गरेको छानवीनको क्रममा हप्तामा दुईदेखि तीन पटक काठमाडौंबाट नेपालगन्ज नियमित आउने–जाने गरेको र नेपालगन्जका व्यवसायीहरुलाई सुन आपुर्ति गर्ने गरेको खुलासा भएको स्रोतको दाबी छ । स्रोतका अनुसार उनीहरुले नेपालगन्ज आउने क्रममा फरक फरक एयरलाइन्सहरु प्रयोग गर्ने गरेकोसमेत पाइएकोे छ ।
काठमाडौंबाट नेपालगन्जतर्फ गैरकानुनीरुपमा सुन ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा बाँके प्रहरीले शुक्रबार नेपालगन्ज एयरपोर्टबाट ४ दशमलव २१ केजी सुनसहित दुई जनालाई पक्राउ गरेको थियो । उनीहरु पक्राउ परेसँगै सुन व्यवसायीहरुले नेपाल ज्वेलर्स, सन्जिव ज्वेलर्स र न्यु नेपाल ज्वेलर्सको नाममा सुन खरिद गरेको बिल बिजक देखाएर घटना सामसुम पार्ने प्रयाससमेत गरेका थिए ।
पक्राउ परेकाहरुले आफुहरुले सुन ल्याएर नेपालगन्जका विभिन्न सुन व्यापारीहरू लाई पटक पटक दिने गरेको साविती बयान दिएपछि ३ वटै सुन पसलहरु अनुसन्धानको दायरामा परेका छन् । आइतबार कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयको टोलीले तस्करीको सुनको कारोवार गर्ने बयान तथा डकुमेन्टबाट खुलेका तीन वटा पसलमा छापा मारेर सुन पक्राउ काण्डको अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धानको क्रममा सदरलाइन, त्रिवेणी मोडस्थित अनिस जसगढको नेपाल ज्वलर्स, सन्जिव ज्वेलसै र न्यु नेपाल ज्वेलर्समा छापा मारेर ती पसलहरुका खाता नियन्त्रणमा लिएको राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख सरोज पोखरेलले जानकारी दिए । अनिस जसगढका सहोदर दाजु सकिल जसगढले आवरणमा सुनको कारबार देखाए पनि गैरकानुनी कारोबार यार्चागुम्वा, प्रतिबन्धित जडिबुटीको कारोबार गर्ने गरेको बताइन्छ ।
पछिल्लो १० वर्षको अवधिमा अकुत सम्पती आर्जन गरेका अनिस र सकिल दाजुभाई माथि कुनै निकायवाट कानुनी दायरामा ल्याउन पहल नभए पनि सुन प्रकरणमा भने उनीहरुको संलग्नता देखिएको छ । त्यसैगरी राजश्व अनुसन्धानको टोलीले त्रिवेणी मोडमै रहेको सन्जीव ज्वलर्स र न्यूरोड भानु चौक नजिक जमिल जसगढको न्यू नेपाल ज्वलर्समा छापा मारेको छ । गैरकानुनी सुन खरीद विक्री गर्ने उपभोक्ता पनि कानुनी दायरामा आउने अनुसन्धान कार्यालयका प्रमुख पोखरेलले बताए ।
बिल भेटिएका तीनै फर्मका सञ्चालकहरुले तस्करीमार्फत सुन मगाएर काठमाडौंभन्दा प्रतितोला ३५०० बढी लिएर साना व्यापारीलाई बिक्री गर्ने र सिमावती भारतको बजारमा तस्करी गर्ने गरेकोसमेत स्रोतको दाबी छ । काठमाडौंबाट नेपालगन्जका लागि उडेको श्रीएयलाइन्सको एसएचए ४३३ नम्बरको फ्लाइटबाट शुक्रबार दिउँसो २ बजे दुई जना नेपालगन्ज अवतरण गरेका थिए ।
मोरङ्ग लेटाङ्ग गाविस वडा नं.२ घर बताउने बर्ष २८ को बुद्दिमान खाती र झापा खादुनावारी गाविस वडा नं.६ अमिर लगुन विकले जुत्तामा लुकाएर ल्याएको ४ दशमलव २१ केजी सुनसहित नेपालगन्ज विमानस्थलमा अवतरण गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । ठुलो मात्राको बैंकबाट मात्रै सुन खरिद गर्नुपर्ने कानुनी व्यवस्था भए पनि बिलमा उल्लेख भएका व्यवसायीले लामो समयदेखि गैरकानुनी रुपमा सुनको कारोवार गर्दै आएका थिए ।
।