सूचनाको शक्ति - The Power Of Information

        

दुखद खबर :

सङ्खुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या

सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ जाँदै

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका-१ को खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ ।

धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा बिहान पौने १० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेपछि अहिले सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । प्रहरीका अनुसार अन्दाजी ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो ।

तेजबहादुरको ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका छन् । घटनास्थल सदरमुकामबाट झण्डै तीन घण्टाको दूरीमा पर्छ ।

घटनाबारे अनुसन्धान भइरहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको टोली केही समय अगाडि घटनास्थलमा पुगेकाे उहाँले बताउनु भयाे।

घटनाको खबर प्राप्त भएपछि डीएसपी लालध्वज सुवेदीको नेतृत्वमा जिल्लाबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेकाे प्रजिअ पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १३:१५