सूचनाको शक्ति - The Power Of Information

        

बझाङको केदारस्युँ गाँउपालिकाका सबै जनप्रतिनिधिले रोजे नेकपा एकीकृत समाजवादी

बझाङ । बझाङमा नेकपा एमालेबाट निर्वाचित भएका स्थानिय तहका जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुल्न थालेका छन् ।

आईतबार बझाङको केदारस्युँ गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, ४ जना वडाध्यक्ष सहित एमाले बाट निर्वाचित सबै जनप्रतिनिधिले नेकपा समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

एमालेबाट निर्वाचित भएका गाँउपालिकाको वडा नं १ का वडाध्यक्ष लोकेश भण्डारी बाहेक सबैले आईतबार जिल्ला निर्वाचन कार्यालय चैनपुर पुगेर माधव नेपाल नेतृत्वको नेकपा समाजवादीमा सनाखत गरेका छन् ।

समाजवादी पार्टीमा सनाखत गर्नेमा केदारस्युँ गाँउपालिका अध्यक्ष ईन्द्र भण्डारी, उपाध्यक्ष निशा धामी, वडा नं २ का वडाध्यक्ष चक्र बिक, वडा नं ३ का वडाध्यक्ष विर बहादुर खाती, वडा नं ५ का वडाध्यक्ष काशीराम धामी, वडा नं ८ का वडाध्यक्ष गणेश बोहरा लगायत ६ जना गाँउकार्यपालिका सदस्य लगायत २० भन्दा बढी जनप्रतिनिधिहरुले आजै निर्वाचन कार्यलय चैनपुर पुगेर सनाखत गरेको वडाध्यक्ष गणेश बोहराले बताउनुभयो ।

जिल्लाका अन्य स्थानिय तहका जनप्रतिनिधिहरु भने अझै सम्म खुलेर आएका छैनन । यसअघि माधव पक्षमा देखिए पनि अहिले सनाखत गरेका छैनन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंह पनि समाजवादीमा खुलेरै लागेका छन् । नेकपा समाजवादीमा सनाखत गरेका केदारस्युँ गाँउपालिकाका अध्यक्ष ईन्द्र भण्डारीले भोलीसम्म नेकपा एमाले बाट निर्वाचित अन्य गाँउपालिकाका जनप्रतिनिधिले पनि सनाखत गर्ने बताउनुभयो ।

सनाखत गर्ने क्रममा निर्वाचन कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दे भण्डारीले अन्य स्थानिय तहका जनप्रतिनिधि संग आफ्नो कुरा भएको र धेरैले भोली सनाखतको लागी आउने जानकारी दिएको समेत बताउनुभयो ।

सनाखत गर्ने समय भएकाले निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरूलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार ०९:४७