सूचनाको शक्ति - The Power Of Information

        

भीम रावलको नगरका मेयर र उपमेयरसहित १२ जना समाजवादीतिर

अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको नगरपालिकाका मेयर र उपमेयरसहित अछाममा १२ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । रावलको नगरपालिका साँफेबगरका मेयर कुलबहादुर कुँवर, उपमेयर विर्मलादेवी बुडथापासहित १२ जनप्रतिनिधिले एमाले छोडेका हुन् ।

कुँवर, बुडथापा र चौरपाटी गाउँपालिका–४ पायलका वडाध्यक्ष हर्कबहादुर लोहारसहित १२ जनाप्रतिनिधिले आइतबार जिल्ला निर्वाचन कार्यालय मंगलसेनमा पुगेर समाजवादीमा सनाखत गरेका छन् । निमित्त निर्वाचन अधिकारी गजेन्द्रबहादुर थारूले अहिलेसम्म १२ जनाले समाजवादीमा सनाखत गरेको जानकारी दिए ।

समाजवादीमा सनाखत गर्नेमा अधिकांश वडा सदस्य रहेका छन् । रावलकै निर्वाचन क्षेत्रका राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, नेकपा एमाले अछाम–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर सोडारी, प्रदेशसभाका समानुपातिक सदस्य मनाकुमारी साउँद र दुर्गा कामीले पनि समाजवादीमा सनाखत गरिसकेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार ०९:३८