काठमाडौं । अफगानिस्तानको पञ्जशीर प्रान्तमा जारी तालिबानविरुद्धको लडाइँमा अफगान नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)का एक शीर्ष नेता मारिएका छन् । तालिबान लडाकुले पञ्जशीरमा घेरा हालेर जारी राखेको आक्रमणमा रेसिस्टेन्स फ्रन्टका नेता अहमद मसूदका नातेदारसमेत रहेका जनरल अब्दुल उदोद जरा मारिएका हुन् ।
साथै रेसिस्टेन्स फ्रन्टलाई साथ दिइरहेका अफगानी पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले पञ्जशीर छोडेका छन् । यसअघि तालिबानले काबुल कब्जा गरेपछि अफगानी सुरक्षा बल लिएर पञ्जशीर छिरेका पूर्व उपराष्ट्रपति सालेह तालिबानले घरमा आक्रमण गरेपछि हेलिकोप्टर चढेर भागेको बताइएको छ ।
अफगानिस्तानका विभिन्न सञ्चारमाध्यममा रेसिस्टेन्स फ्रन्टका प्रवक्ता फाहिम दास्तीसमेत मारिएको समाचार प्रकाशित भएका छन् । यसैबीच पञ्जशीरमा तालिबानविरुद्ध लडिरहेका अहमद मसूद शान्ति वार्ताका लागि तयार भएका छन् केही दिनदेखि जारी लडाइँमा दुवैतर्फका सयौं लडाकु मारिएपछि मसूद शान्ति वार्ताका लागि तयार भएका हुन् । उनले शान्ति वार्ताका लागि धार्मिक नेताहरुलाई अघि बढाएका छन् ।
धार्मिक नेताहरुले शान्ति स्थापनाका लागि तालिबानसँग वार्ता गर्ने जिम्मेवारी पाएका छन् । राजधानी काबुलबाट झण्डै दुई घण्टाको दूरीमा रहेको पञ्जशीर तालिबान विरोधीहरुको गढ मानिन्छ । तालिबानले गत अगस्टमा राजधानी काबुलसहित सबैजसो प्रान्तमा कब्जा जमाएको केही दिनपछि मात्रै पञ्जशीरमा आफ्ना लडाकु पठाएको थियो । यो बीचमा दुवै पक्षले पञ्जशीरमा आफ्नो उपस्थिति बलियो भएको दाबी गर्दै आएका थिए ।
।