धनगढी । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा९एस०को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य संख्या १३ पुगेको छ ।
प्रदेशमा माओवादी केन्द्रका पनि १३ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रको भन्दा ठूलो पार्टी बनाएर सत्ताको दाबी गर्ने भन्दै थप एक सांसद जुटाउने अभियानमा सो पार्टीका नेताहरु लागिपरेका छन् । प्रदेशसभा सदस्य बलदेव रेग्मीलाई आफ्नो पक्षमा ल्याएर बहुमत सदस्य जुटाउने अभियान जारी रहेको प्रदेशसभा सदस्य दीर्घ सोडारीको दाबी छ ।
प्रदेशसभा सदस्यहरु दीर्घ सोडारी र तारा लामा तामाङसँगै विगतमा ओली पक्षमा खुल्दै आएका पूर्वराज्यमन्त्री प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर नेकपा (एस)को पक्षमा सनाखत गरेका छन् । योसँगै कांग्रेस र एमालेसँग १२/१२ जना प्रदेशसभा सदस्य हुनेछन् भने जनता समाजवादी पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।
यसअघि १० सांसदले (एकीकृत समाजवादी) रोजिसकेका छन् । आज नेकपा एमालेबाट निर्वाचित थप तीन सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि अब उक्त पार्टी सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा ठूलो दल बनेको हो । आज सनाखत गरेको प्रदेश सांसद सोडारीले अब आफूहरूको पार्टी प्रदेशसभाकै ठूलो दल बनेको जिकिर पनि गरे ।
‘हामी तीन जनाले आज सनाखत गर्याैँ । प्रदेशसभामा हामी अर्काे दलसँग बराबरी भएका छौँ । अब भोलि एक जना सांसदले सनाखत गर्नुहुन्छ । हामी प्रदेशसभाकै ठुलो दल बन्छौँ,’ प्रदेश सांसद सोडारीले भने । प्रदेशसभामा माओवादी केन्द्रका १३ सांसद् छन् । अब सुदूरपश्चिममा एमालेका सभामुखसहित १२ सांसद भएका छन् ।
।