बाँके । नेपालगन्ज विमानस्थलबाट बाँके प्रहरीले नियन्त्रणमा लिएको चार किलो काँचो सुनको घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाए पनि सुन काठमाडौँ विमानस्थलबाट कसरी जहाजमार्फत नेपालगन्ज पुग्यो र व्यवसायीले वैध तरिकाले खरिद गरेको भए जुत्तामा किन लुकाएर ल्याइयो भन्नेजस्ता प्रश्नको उत्तर नमिल्दा घटना रहस्यमय बन्दै गएको हो ।
शुक्रबार दिउँसो काठमाडौँबाट श्री एअरको विमानबाट नेपालगञ्ज आएका झापा र मोरङका दुई जना युवामाथि शङ्का लागेर विमानस्थलमा तलासी गर्दा जुत्ताको तलुवामा लुकाएर ल्याएको चार किलो काँचो सुन र अढाई तोला गहना प्रहरीले बरामद गरेको थियो । झापा खदुनावारी–६ का अमिरलगुन विश्वकर्मा र मोरङ लेटाङ २ का बुद्धिमान खातीलाई प्रहरीले सुनसहित नियन्त्रणमा लिएको थियो ।
सुनचाँदी व्यवसायी सङ्घ बाँकेका अध्यक्ष सलाहुद्दिन जसगढले सो सुन नेपालगन्जका तीनवटा प्रतिष्ठित व्यवसायीको भएको भन्दै काठमाडौँ मैतीदेवीमा रहेको बुद्ध ज्वेलरी वर्कसप प्रालिबाट खरिद गरिएको बिल देखाएपछि घटना झन् रहस्यमय बनेको छ । उक्त सुन नेपालगन्जस्थित नेपाल ज्वेलर्स, नेपाल आभुषण भण्डार र सन्जित ज्वेलर्सको नाममा खरिद गरिएको सङ्घका अध्यक्ष जसगढले बताए ।
वैध तरिकाले खरिद गरिएको सुन किन जुत्तामा लुकाएर ल्याएको भनी प्रश्न गर्दा उनले आफू पनि आश्चर्यमा परेको बताए । नेपाल ज्वेलर्स र नेपाल आभुषण भण्डारको नाममा रहेको दुई/दुई बिस्कुट सुनको बिलमा भदौ १७ गतेको मिति रहेको छ भने सन्जित ज्वेलर्सको नाममा रहेको १६ गते खरिद गरेको मितिको दुईवटा बिलमा एक/एक पिस बिस्कुट उल्लेख गरिएको छ ।
अढाई तोलाको तयारी गहनाको बिल भने १८ गतेको मितिमा बुद्धिमान खातीको नाममा काटिएको पाइएको छ । उता बाँके प्रहरीले नियन्त्रणमा लिएको सुनबारे अनुसन्धान भइरहेको जनाउँदै वैध तरिकाले खरिद गरिएको हो भने जुत्तामा लुकाएर किन ल्याइयो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जुत्तामा लुकाएर ल्याउनुपर्ने कारणको खोजी गरिरहेको जनाए ।
काठमाडौँ विमानस्थलको कडा चेकजाँच र दुईवटा एक्स–रे मेसिनबाट कसरी सुन जहाजसम्म पुग्यो भन्ने प्रश्नमा एसपी अधिकारीले उक्त कुरा पनि रहस्यमय भएकोले त्यसबारे पनि अनुसन्धान भइरहेको बताए । प्रहरीले नियन्त्रणमा लिएको सुन र पक्राउ परेका दुवैलाई शनिबार दिउँसो राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको एसपी श्यामकृष्ण अधिकारीले बताए । उक्त घटनाको थप अनुसन्धान राजस्व अनुसन्धान कार्यालय कोहलपुरले गर्ने भएको छ ।
शुक्रबार काठमाडौँबाट आएकालाई चेकजाँच गर्ने क्रममा अमिर लगुन विश्वकर्माले लगाएको दायाँ/बायाँ जुत्तामा सुनको दुई/दुई बिस्कुट र बुद्धिमान खातीले लगाएको दायाँ/बायाँ जुत्ताको तलुवामा एक/एक पिस सुनको बिस्कुट गरी जम्मा छ थान सुनको बिस्कुट प्रहरीले फेला पारेको थियो । यसैगरी बुद्धिमान खातीले बोकेको लेदरको कालो रङ्गको झोला चेकजाँच गर्दा थप तिलहरी थान एक, बाला थान एक, गणेश लकेट पाँच थान गहना पनि बरामद भएको थियो ।
।