सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा २१० मेगावाटको अर्धजलासययुक्त चैनपुर सेती जलविद्युत आयोजना निर्माण हुदैे

बझाङ । बझाङमा २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनाको काम अघि बढ्ने भएको छ ।

विगत ४ वर्षदेखि सम्भाव्यता अध्ययन भइरहेको यो आयोजनाको प्रारम्भिक अध्ययनको काम सकेर दोस्रो चरणको अध्ययनको काम भइरहेको छ ।

नेपाल विद्युत प्रधिकरणले जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भए संगै बझाङमा २१० मेगावाटको चैनपुर सेती जलविधुत आयोजना निमार्ण हुने भएको हो ।

प्राधिकरणले महत्वाकांक्षी आयोजनाका रुपमा अघि सारिएको यो आयोजना साइपाल गाउँपालिकाको काँडामा ड्याम बाँधेर तलकोट गाउँपालिकाको बस्टीमा निर्माण हुने भएको हो ।

जनताको जलविद्युत कार्यक्रममा अन्तर्गत निर्माण गरिने आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहने छ ।

आयोजनालाई इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा निर्माणका लागि टेण्डर कागजपत्र तयार, पहुँच सडक निर्माण, जग्गा अधिग्रहण लगायतका काम सुर भइरहेको छ ।

अर्धजलाशययुक्त चैनपुर सेती जलविधुत आयोजनाको १३ किलोमिटर लामो सुरुङमार्ग पनि रहेको छ । चैनपुर सेती जलविद्युत आयोजनाका प्रमुख अनिलभक्त श्रेष्ठका अनुसार अहिलेसम्मको अध्ययन अनुसार अरु आयोजनाका तुलनामा कम लागतमा उच्च प्रतिफल दिने आयोजना रहेको छ ।

सुक्खायाममा समेत दैनिक कम्तिमा ६ घण्टा २१० मेगावाट विद्युत उत्पादन गर्न सक्ने आकर्षक आयोजनाका रुपमा चैनपुर सेती जलविद्युत आयोजनालाई अगाडी बढाउन लागिएको उहाँको भनाई छ ।

निमार्ण कार्य सुरु गरेको समय देखि ५ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको लागत अनुमान बैकं ब्याजबाहेक ३६ अर्ब ५४ करोड लागत अनुमान गरिएको छ ।

आयोजनाको बाँध क्षेत्रमा बस्ती नभएको र पावर हाउस बन्ने ठाँउमा पातलो बस्ती भएका कारण पनि स्थानीयको २३० रोपनी निजी जग्गा अधिग्रहण गर्दा आयोजनालाई पुग्ने समेत प्रमुख श्रेष्ठले बताउनुभयो ।

आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, जलविद्युत लगानी तथा विकास कम्पनीसहित स्थानीय र प्रदेश सरकारको समेत लगानी हुने गरि वित्तीय व्यवस्थापनको मोडालिटीमा छलफल भइरहेको छ ।

आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेर विद्युत विकास विभागमार्फत स्वीकृतिका लागि वन मन्त्रालयमा पठाइसकेको छ । एक डेढ वर्षअघि नै पहिलो चरणको भौगर्भिक अध्ययन सकेर अहिले दोस्रो चरणको भौगर्भिक अध्ययनको काम भइरहेको छ ।

आयोजनाको लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको लागि प्रक्रिया सुरु भईसकेको छ । मुअब्जा निर्धारण नभएको जग्गा अधिग्रहण हुने बारेमा जिल्ला प्रसासन कार्यालयले सुचना जारी गरि सकेको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले आयोजना बन्न लागेको क्षेत्रका बासिन्दालाई पत्र पठाएका छौ । स्थानिय सरोकारवाला निकायलाई सार्वजनिक सुचना जारी गरेर जानकारी गराई सकेका छौ ।

आयोजनाको बाँध क्षेत्रमा बस्ती नै छैन भने विद्युत् गृह क्षेत्रमा पनि एकदमै पातलो बस्ती छ । त्यसैले स्थानीयको थोरै मात्र जग्गा अधिग्रहण गर्दा आयोजनालाई पुग्ने छ ।

आयोजनाको निर्माण सुरु भएसँगै हजारौं स्थानीयहरुले प्रत्यक्ष ÷अप्रत्यक्षरूपमा रोजगारी पाउने छन । आयोजनाका लागि चाहिने बाहिरी जनशक्तिको आवतजावत बढ्दा स्थानीय स्तरमा आयआर्जनका अवसरहरु पनि सिर्जना हुने देखिएको छ ।’

पश्चिम नेपालकै गौरवको आयोजना भएकाले सबै पक्ष बाट सहयोग गरि समयमै आयोजना सम्पन्न गराउनु पर्ने समेत प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।

आयोजना निमार्णका लागी टेण्डर डकुमेन्टसमेत तयार भई सकेको छ । ठेकेदार कम्पनीले नै विस्तृत इन्जिनयरिङ अध्ययन गरेर काम सुरु हुने भएको छ ।

प्राधिकरणले ८ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त, १ हजार ६१ मेगावाटको माथिल्लो अरुण र २ सय १० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरु एक साथ अगाडि बढाउन लागेको छ ।

देशभर निमार्ण भएका जलविद्युत आयोजनाले स्थानीयको सहयोग नपाएको गुनासो गर्ने गरेका छन । आयोजनाका लागी स्थानीय बासिन्दा, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले विशेष सहयोग गर्नु पर्दछ । स्थानिय आयोजना निमार्ण हुने भएपछि हर्षित भएका छन ।

आयोजना निमार्णका लागी स्थानियहरुको सहयोग पुरा हुने र यो आयोजना पश्चिम सेती जस्तो चर्चामा मात्र नभई समयमै बन्नु पर्ने साईपाल गाँउपालिकाका स्थानिय तिलक बिकले बताउनुभयो ।

आयोजनाहरुको काम बन्ने चरणमा चर्चा मात्र हुने र पछि निमार्ण कार्यमा ठेकेदार कम्पनिले ढिलाई गर्ने गरेका कारण योजना अलपत्र हुने भएकाले यस आयोजनाको काम छिटो अघि बढाउनु पर्ने विकको भनाई छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतवार ०८:३४