सूचनाको शक्ति - The Power Of Information

        

बुंगलका कृषकहरुलाई कृषि सामाग्री वितरण

बझाङ ।  बझाङको बुंगलमा कृषकहरूलाई कृषि सामाग्री वितरण गरिएको छ ।

बुंगल नगरपालिका – ६ का मकै नमुना गाउँका कृषकहरुलाई कृषि ज्ञान केन्द्र बझाङले ५० लाख बराबरको कृषि सामाग्री वितरण गरेको हो ।

मुख्यमन्त्री कृषि तथा पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत बुंगलका मकै नमुना गाउँ डिन्नु, थलाकाडाँ र गैरि गाउँका ३ सय ५० जना कृषक तथा घरधुरिलाई विभिन्न कृषि सामाग्री वितरण गरेको छ ।

जसमा ४ सय विउ सुकाउने पाल,७ सय विउ राख्ने भकारी,५ हाते ट्याक्टर र मकै विक्रि वितरण गर्नको लागि प्याकिङ गर्न ३ सय बोरा लगायतका सामाग्रीहरू कृषकहरूलाई वितरण गरेको हो ।

शुक्रबार मुख्यमन्त्री मकै नमुना गाउँ कृषक समन्वय समिति बुंगल नगरपालिका – ६ डिन्नुले आयोजना गरेको उक्त सामाग्री वितरण कार्यक्रममा बोल्दै कृषक हरेन्द्र देवारले आफुहरु रैथाने बाली जोगाउन तर्फ लागेका र त्यसमा कृषि ज्ञान केन्द्रले पनि आफुहरुलाई सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गाउँलाई मकैको राजधानी भनेर चिनाउनका लागी लागि परेका छौ । यो बर्ष राम्रै उत्पादन भएर अन्य बजारहरुमा लिन सक्यौ भने यो हाम्रो गाउँलाई मकैको राजधानी भनेर नामाकरण गर्छौ । अहिले सम्म त राम्रो छ । पछि के हुने हो ।’

आफुहरुले बुंगलको मकै नमुना गाउँलाई मकैको राजधानी बनाउनका लागी यो बर्ष पनि बजेट थप गरिएको र कृषकहरुले उत्पादन राम्रो गरे पछी थप अन्य कार्यक्रमहरु पनि दिने कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले बताउनुभयो ।

कृषि सामाग्रीले आफुहरुलाई काम गर्न तथा मकै उत्पादनमा राम्रो सहयोग पुग्ने कृषकहरुले बताएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतवार ०८:३१