काठमाडौं । बाढी र पहिरोका कारण बन्द भएका सडक खुलाउने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
लामो समयदेखि बन्द रहेका सडकहरु विभिन्न उपकरणको प्रयोग गरेर खुलाउने तयारी भइरहेको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिनुभयो ।
दुई, तीन महिना अगाडिदेखि बन्द रहेका सडक खुलाउन केही समय लाग्ने भए पनि भदौ पछि बन्द भएका सडक खण्ड भने अबको एक हप्तामै सञ्चालन गरिने उहाँले बताउनुभयो ।
अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जुरेमा पहिरो गएका कारण बन्द भएको काठमाण्डौ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड र जुम्लामा गएको पहिरोका कारण बन्द भएको सुर्खेत–दैलेख–महाबुलेख–गाल्जे, नाग्मा–गमगढी–नाक्चेलाग्ना लगायतका सडक केही दिनमै खुल्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
अहिले पहिरो हटाउने काम भइरहेको छ । निरन्तर झरी परिरहेकाले यी सडक खण्ड सञ्चालनमा समस्या भइरहेको थियो ।
अहिले पानी पर्न कम भएकाले काम थालिएको हो । सम्बन्धित सडक डिभिजनमार्फत बन्द सडक खुलाउने काम भइरहेको छ ।
यी सडक खण्ड बन्द हुँदा र यसको विकल्पमा प्रयोग गर्न सकिने अरु सडक नहुँदा आवतजावत गर्न तथा खाद्यान्न लगायतका सामग्री ढुवानीमा समस्या भइरहेको छ ।
।