सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

नेपालमा एक करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

फाइल तस्वीर

काठमाडौं । सरकारले चैत अन्तिमसम्म कोभिड–१९ विरुद्धको खोप लगाउन योग्य सबै लक्षित जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य राखेको छ । असोज अन्तिमसम्म कम्तीमा एक तिहाई जनसंख्यालाई खोप दिइसक्ने योजनाका साथ अघि बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही योजनाका साथ सरकारले बुधवार १५.४ प्रतिशत नागरिकलाई खोप दिइएको तथ्यांक सार्वजनिक गरेको छ । छोटो समयमा १५ प्रतिशत जनसंख्यालाई खोप दिन सफल भएको भन्दै विश्व स्वास्थ्य संगठनले नेपालाई बधाइसमेत दिएको छ ।

एक करोड १६ लाख नागरिक खोप लगाउन बाँकी


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउन लक्षित नागरिकको संख्या २ करोड १७ लाख ५६ हजार ७६३ रहेको छ । यो संख्यामध्ये भदौ १६ गतेसम्म ५४ लाख २४ हजार ८३६ जना (१७.९ प्रतिशत)ले पहिलो डोज र ४६ लाख ६७ हजार ३२८ जना (१५.४ प्रतिशत)ले पूर्ण खोप अर्थात् दुवै डोज लगाएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको थियो ।

यो संख्या बढेर बिहीवार ५४ लाख २५ हजार ८८८ (पहिलो मात्रा) र ४६ लाख ७७ हजार ९७६ (दुवै डोज) पुगेको छ । यसरी भदौ १७ गतेसम्म नेपालमा कोभिड १९ विरुद्धको खोप लिनेको जम्मा संख्या पहिलो र दुवै डोज गरी जम्मा खोप लगाउनेको संख्या १ करोड १ लाख ३ हजार ८६४ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा अब १ करोड १६ लाख ५२ हजार ८९९ जना नागरिक कोभिड १९ विरुद्धको खोप लगाउन बाँकी रहेको मन्त्रायलको तथ्यांक छ ।

कुन खोप कतिले लगाए ?


नेपालमा जनसंख्याका आधारमा सबैभन्दा बढी वाग्मती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा कोभिड १९ विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । मन्त्रालयको भदौ १६ गतेसम्मको तथ्यांक अनुसार भेरोसेल खोप सबैभन्दा धेरै नागरिकले लिएका छन् । भेरोसेल खोपको दुवै डोज लिनेको संख्या प्रदेश १ मा १ लाख ७ हजार १९६ रहेको छ भने प्रदेश २ मा यो संख्या ८१ हजार ३४५ मात्रै रहेको छ ।

त्यस्तै वाग्मती प्रदेशमा भेरोसेल खोपको दुवै डोज लिनेको संख्या ११ लाख २० हजार ६३, गण्डकीमा १ लाख ९१ हजार ७९, लुम्बिनीमा ३ लाख ४६ हजार ७०१, कर्णालीमा ७० हजार ६१९ र सुदूरपश्चिम प्रदेशमा १ लाख ५३ हजार ८५६ रहेको छ । नेपालमा हालसम्म २० लाख ७० हजार ८५९ जनाले भेरोसेल खोपको पूर्ण मात्रा लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक रहेको छ ।

त्यस्तै कोभिसिल्ड खोपको पूर्ण मात्रा लगाउनेमा प्रदेश १ मा १ लाख २४ हजार ८०५ जना, प्रदेश २ मा ६० हजार ३९४ जना, वाग्मती प्रदेशमा ४ लाख २० हजार ९५९ जना, गण्डकीमा १ लाख ४७ हजार ४९७ जना, लुम्बिनीमा २ लाख ५२ हजार ९७८ जना कर्णालीमा ६६ हजार ३२० जना र सुदूरपश्चिममा १ लाख ५९ हजार ८९८ जना छन् । कोभिसिल्ड खोपको पूर्ण मात्रा लगाउनेको संख्या नेपालमा १२ लाख ३२ हजार ८५१ छ ।

त्यस्तै एक डोज मात्र लगाइने जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या प्रदेश १ मा १ लाख ९० हजार ८९०, प्रदेश २ मा २ लाख २ लाख ७३ हजार १०, वाग्मतीमा ३ लाख ४३ हजार ५४७, गण्डकीमा १ लाख ३ हजार १८७, लुम्बिनीमा २ लाख ५२ हजार ८०, कर्णालीमा ६७ हजार ५११ र सुदूरपश्चिम प्रदेशमा १ लाख ३३ हजार ३९३ रहेको छ । नेपालमा कुल १३ लाख ६३ हजार ६१८ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको मन्त्रालयको तथ्यांक छ ।

प्रदेश २ खोपमा किन पछाडि ?


जनसंख्याको हिसाबले वाग्मतीपछिको दोस्रो ठूलो प्रदेश प्रदेश २ मा कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या भने निकै न्यून छ । स्वास्थ्य मन्त्रालयको भदौ १६ गतेसम्मको तथ्यांकमा प्रदेश २ मा पूर्ण खोप लगाउनेको संख्या ४ लाख १४ हजार ७४९ मात्रै छ भने पहिलो डोज लगाउनेको संख्या ६ लाख ६९ हजार ४८७ छ । कुल ५४ लाख ४ हजार १ सय ४५ जनसंख्या रहेको प्रदेश २ मा खोप लगाउनेको यो संख्या निकै न्यून हो ।

जबकी ५५ लाख २९ हजार ४५२ जनासंख्या रहेको वाग्मती प्रदेशमा १८ लाख ८४ हजार ५६९ जनालाई पूर्ण खोप नै लगाइसकिएको छ । खोपको उपलब्धताका आधारमा सबै प्रदेशमा मिलाएर खोप पठाइएको स्वास्थ्य सेवा विभाग अन्तरगत खोप शाखा प्रमुख सागर दाहाल बताउँछन् । ‘सुरुका दिनहरुमा खोप कम आएको थियो त्यसैले कुन प्रदेशमा कति पठाउने भन्ने अन्योल भयो त्यसैले कुनै प्रदेशमा कम र कुनैमा बढी वितरण गर्ने अवस्था थियो तर अब खोप नियमित आउँछ, प्राथमिकताका आधारमा सबै प्रदेशमा पर्याप्त खोप पठाइनेछ,’ दाहालले भने ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १८:१२