सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

एमाले उपाध्यक्ष वामदेवले भने, ‘एकीकृत समाजवादीमा जान जबज शर्त’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हुनुपर्ने शर्त राखेको उनको सचिवालयले जनाएको छ । शुक्रबार गौतमका स्वकीय सचिव दीपक टमटाले वक्तव्य जारी गर्दै जबज बाहेक अरु शर्त नराखेको जानकारी दिएका छन् ।

‘माधव नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्कसवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्तबाहेक अरु कुनै शर्त वामदेव गौतमले राख्नु भएको छैन । अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ,’ उनले भनेका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले जबज नमाने आफू उक्त पार्टीमा नजाने उनले बताउँदै आएका छन् । त्यसो त (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले जबज नछोडेको बताउँदै आएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने आफ्नो पार्टीले जबज नछाडेको दाबी गरेका छन् ।

अध्यक्ष नेपालले भने, ‘जनताको बहुदलीय जनताको देखाएको बाटोमा त्यसको मुल मर्मलाई आत्मसाथ गरेका छौँ । हामीले जबज छाडे भन्ने कसैले भ्रम नपारे हुन्छ ।’ जबजलाई आत्मसाथ गर्दै वैज्ञानिक समाजवादको लक्ष्य तय गर्ने उनको भनाइ छ । ‘हामी पुरानो चरित्र बोक्दैनौँ । देश र जनताको समस्यालाई बोकेर अगाडि बढ्छौँ । नेपालको वैज्ञानिक समाजवादको लक्ष्यमा लिएर अगाडि जान्छौँ,’ अध्यक्ष नेपालको भनाइ छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १६:०८