सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज–गुलरिया सडकखण्ड

‘फोर लेन’ सडक निर्माणमा ढिलाइ

फाइल तस्वीर

बाँके । गुलरिया सडकखण्ड अन्तर्गत बाँके र बर्दियाका दुई स्थानमा निर्माण थालिएको चार लेन (फोर लेन) सडक निर्माणमा ढिलाइ भएको छ । सम्झौताअनुसार काम सम्पन्न हुनुपर्ने समयमा सडकको बेसलाइनको काम मात्रै भएको छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीका अनुसार २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामले सडक निर्माण कार्य सुरु गरेको हो । बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि २१ करोड ४९ लाख रुपियाँमा सम्झौता भएको हो ।

‘सम्झौताअनुसार २०७७ चैतमा सम्पन्न हुनुपर्ने भए पनि हालसम्म करिब ७० प्रतिशतमात्रै काम भएको छ । दुईपटक कोभिडको समस्याका कारण निर्माणकार्य प्रभावित भयो,’ सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख एसीले भने, ‘सुरुमा बिजुलीका पोल तथा खानेपानीका पाइप सार्ने, रुख तथा सडकखण्डमा पर्ने संरचनाका कारण पनि कामले गति लिन नसकेपछि निर्माणमा विलम्ब भएको हो ।’

निर्माण कम्पनीले म्याद थपका लागि कार्यालयमा निवेदन दिएको छ । सरकारले कोभिडपछि परेको प्रभावलाई दृष्टिगत गर्दै ठेक्का सम्झौताको म्याद छ महिना थप गर्ने बजेटमार्फत सार्वजनिक गरे पनि औपचारिक निर्णय नआएको कार्यालयले जनाएको छ । निर्माण कम्पनीले छिटो सडक निर्माण सम्पन्न गर्नुपर्ने प्राविधिक कारण देखाउँदै तत्कालै काम सुरु गर्ने जानकारी गराएको प्रमुख एसीले बताए ।

यो सडक डीईएसटी प्रविधिमार्फत कालोपत्रे गर्न लागिएका कारण तापक्रम, मौसम, निर्माण सामग्रीमा विशेष ध्यान दिनुपर्ने हुन्छ । असोजसम्म काम गर्न नसकिए हिउँदपछि मात्रै कालोपत्रेको काम हुने भएकाले तत्कालै काम सुरु गर्ने कार्यालयले जनाएको छ । सडक नालीसहित २४ मिटर लम्बाइको रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १५:४३