सूचनाको शक्ति - The Power Of Information

        

बेलौरी नगरपालिकाका नौ जनप्रतिनिधि एकीकृत समाजवादीतिर

कञ्चनपुर । नेकपा (एमाले)बाट निर्वाचित बेलौरी नगरपालिकाका दुई वडा अध्यक्षसहित नौजना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । वडा नं.९ का अध्यक्ष शम्शेरसिंह पेला र वडा नं.८ का अध्यक्ष नन्दकुमार रानाले एकीकृत समाजवादी रोजेका हुन् । उनीहरुले बिहीबार जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा सनाखत गरेका छन् ।

स्थानीय तह निर्वाचनमा बेलौरीमा चार वडामा एमालेले अध्यक्ष जितेको थियो । वडा नं. २ र ४ का वडाध्यक्ष एमालेमै छन् । वडा अध्यक्षसँगै कार्यपालिका सदस्यहरु विनोद नेपाली, तुलसी श्रेष्ठ र धनबहादुर सार्कीले पनि एमाले छाडेका छन् । वडा नं. ३ का वडा सदस्य रामप्यारी विक, ९ का सदस्यहरु सुनादेवी दमाई र ८ का वडा सदस्य राजमान चौधरीले पनि एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

वडा नम्बर ३ मा विक मात्रै एमालेबाट निर्वाचित भएकी वडा सदस्य हुन् । बेलौरी नगरपालिकाको कार्यपालिकामा नेकपा एमालेका ११ सदस्य थिए । पाँच जनाले नयाँ दल रोजेपछि एमाले ६ सदस्यमा समेटिएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका नायब सुब्बा भानबहादुर महराले बेलौरी नगरपालिकाका नौजना जनप्रतिनिधिले निर्वाचन कार्यालयमा आएर एकीकृत समाजवादीका लागि सनाखत गरेको बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १३:२८