सूचनाको शक्ति - The Power Of Information

        

बझाङका स्थानिय जनप्रतिनिधीलाई निर्वाचन कार्यालयले सनाखतको लागि बोलायो

बझाङ । जिल्ला निर्वाचन कार्यालय बझाङले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्न इच्छुक स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएको छ ।

१२ वटै स्थानीय तहलाई पत्र पठाउँदै निर्वाचन कार्यालयले सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको हो ।

नेकपा एकीकृत (समाजवादी) पार्टीमा जान इच्छुक नेकपा एमालेका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरुका लागि २२ गतेसम्मको समयसीमा तोकिएको छ ।

सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिन तथा भदौ २२ गते सम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ ।

आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने पनि जनाएको छ ।

प्रदेशसभा सदस्यले सनाखत गर्न जाँदा सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा प्रदेशसभा सचिवालयबाट जारी भएको परिचयपत्र वा प्रमाणितपत्र बोकेर जानुपर्ने बताइएको छ ।

त्यसैगरी, स्थानीय तहको सदस्यका लागि सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा सम्बन्धित स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र अनिवार्य गरिएको छ ।

हाल सम्म १२ वटै स्थानीय तहका कुनै पनि जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेको भने खुलेको छैन् ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १६:२५