सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार घटेर राताम्मे, साढे नौ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । हप्ताको अन्तिम दिन शेयर बजार घटेर राताम्मे भएको छ । हिजो बुधवार सामान्य बढेको नेप्से आज बिहीवार ५० दशमलव १३ अङ्कले घटेर दुई हजार नौ सय २६ दशमलव ८९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर १६ अङ्कले, विकास बैंकको एक सय ८६ अङ्कले, जलविद्युतको एक सय १६, फाइनान्सको एक सय १४ र माइक्रोफाइनान्स समूहको शेयर साढे २३ अङ्कले घटेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर तीन सय ४२, निर्जीवन बीमा समूहको दुई सय ३३, उत्पादनको एक सय २७, अन्य समूहको ३७ र लगानी समूहको शेयर साढे तीन अङ्कले घटेको छ ।

आज नारायणी विकास बैंक, कर्णाली विकास बैंक, अरुण काबेली पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि सानिमा लाइफ इन्सोेरेन्स र मनकामना स्मार्ट लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय ३० कम्पनीका एक करोड ८१ लाख कित्ता शेयर नौ अर्ब ५० करोड ५९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ५७ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १६:१४