सूचनाको शक्ति - The Power Of Information

        

बाइडेनद्वारा अफगानिस्तानबाट सैनिक फिर्ता गर्ने निर्णयको बचाउ

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको फेरि बचाउ गरेका छन् ।

अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ता गर्ने निर्णय गरेसँगै तालिबानले सत्ता कब्जा गरेका बेला राष्ट्रपति बाइडेनले भने आफ्नो कदमको बचाउ गरेका हुन् ।

अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी सैन्य कारबाही अन्त्य भएको र फौज फिर्ता भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अझै पनि त्यहाँ बसिरहनुको अर्थ नरहेको बताएका हुन् ।

उनले अफगानिस्तानबाट बाहिरिन चाहने एक लाख २० हजारभन्दा धेरै मानिसहरूको हवाई उद्धार गरेकोमा सेनाको प्रशंसा गरे ।

अफगानिस्तानबाट अचानक अमेरिकी फौज फिर्ता गर्ने निर्णयलाई लिएर बाइडेनले आलोचना खेप्नु परिरहेको छ ।
तर, उनले फौज फिर्ता गर्ने निर्णयको बचाउ गर्दै भनेका छन्, ‘मैले त्यसलाई सधैँको युद्धका रूपमा बिस्तार गर्न चाहेको थिइनँ, अफगानिस्तानमा अब युद्ध समाप्त भएको छ ।’

अमेरिकी सेना फिर्ता भएपछि तालिबानले भने अफगानिस्तान स्वतन्त्र भएको भन्दै उत्सव मनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार ०९:४१