सूचनाको शक्ति - The Power Of Information

        

विश्व समाचार

तालिबान शासन : समाचार प्रस्तोताको काँधमा बन्दुकको नाल !

काबुल । एक समाचारवाचक टेलिभिजन स्टुडियोमा समाचार पढिरहेका छन् । बन्दुकधारी लडाकुहरूको एउटा समूह अकस्मात स्टुडियोमा पस्छ । केही लडाकुले समाचार प्रस्तोताको काँध पछाडि बन्दुकको नाल तेर्साउछन् र आफूले भने जस्तो समाचार पढ्न दबाब दिन्छन् ।

यो दृश्य हो आधुनिक अफगानिस्तानको एउटा टेलिभिजन स्टुडियोको । ४२ सेकेण्ड लामो सो भिडियो क्लिपमा समाचार प्रस्तोतालाई ८ जना सशस्त्र तालिबानले घेरिरहेको देखिन्छन् । उनीहरूले तालिबानको समर्थन जनाउने सामग्री पढ्न दबाव दिइरहेका थिए । मंगलबार विहानसम्म सो भिडियो १० लाखले हेरिसकेका छन् ।

विविसीका याल्दा हाकिमले ट्विट गरेको सो भिडियो क्लिपमा आइतबार दिउँसो स्टुडियोमा पुगेर तालिबानले समाचार प्रस्तोतालाई आफूसँग बोल्न दबाव दिएका थिए । प्रस्तोताले लडाकुसँग ‘अन एयर’मै बहस गरेका थिए । तालिबानको दबावपछि प्रस्तोताले अफगान सरकारको पतनबारे चर्चा गर्दै अफगानीलाई त्रसित नहुन आग्रह गरेका थिए ।

प्रस्तोताले सर्वसाधरणलाई स्टुडियोबाटै तालिबानलाई सहयोग गर्न आव्हान गरेका थिए । इरानी पत्रकार मासी अलिनजादले सो भिडियो रिट्विट गर्दै लेखेका छन्,‘यो भिडियो अस्वभाविक छ । तालिबानले समाचार प्रस्तोतालाई बन्दुकको नाल देखाएर आफ्नो धारणा व्यक्त गर्न लगाएका छन् ।’

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १८:४४