सूचनाको शक्ति - The Power Of Information

        

विचार

कोभिड–१९, जल तथा जनस्वास्थ्य संकट

हाम्रा शहरहरुमा अझै पनि ठूलो संख्यामा जनसमुदायहरु पाइपबाट खानेपानी आपूर्तिको सुविधाबाट बञ्चित छन् ।

कोभिड–१९ महामारीले हाम्रो अर्थ–सामाजिक अवस्थालाई धमिराले जस्तो गरी नोक्सानी पुर्याइराखेको अवस्था छ । यस्तोमा हामीले यो सोच्न आवश्कय छ कि हामी सबैका लागि स्वच्छ सफा तरिकाले पानीको उपलब्धता कति महत्वपूर्ण होला ? यस विनाशकारी महामारीबाट बच्ने एउटामात्र अचुक तरिका यो छ कि हामी लगातार आफ्ना हातहरुलाई प्रत्येक पटक कम्तीमा २० सेकेण्डसम्म धोऔं अर्थात् सफा पानी रोगहरुको रोकथामका लागि दुनियाँको सबैभन्दा महत्वपूर्ण उपाय हो । साथै वैश्वीकस्तरमा चिकित्साकर्मीहरु यही सचेतना सूचना प्रवाह गरी राखेका छन् । यस्तोमा कोरोना भाइरसजस्तो वैश्वीक दुश्मनलाई हराउनमा पानीको उपलब्धता एउटा महत्वपूर्ण कदम हुनेछ ।

हामीमध्ये अधिकांश मानिसहरु यस कुराबाट निश्चिन्त हुन सक्दछन्, कि हामी आफ्नो धाराबाट पानी लिन्छौं एवम् त्यो सफा र स्वच्छ हुन्छ, फेरि पनि केही मानिसहरु यस्ता पनि छन्, जसले यो सोच्न सक्दछन् कि यदि आफ्नै धाराको पानी सफा नभए के भो त हामीले बोतलबन्द पानी छाने त भइगयो नि ! तर हामी दुई कुरा विर्सन्छौं पहिलो जुन पानी हामी खरिद गर्दछौं । त्यो पानी त सार्वजनिक श्रोतहरुबाट नै आउँछ अर्थात् धेरैजसो ती भू–जल हुन्छन् एवम् खनिजहरुको मात्रा भी त्यसमा बढी हुन्छ । अर्कोकुरा हामी यो सोचेर बोतलबन्द पानी किन्दछौं कि यो सुरक्षित छ र पानीलाई ब्वाइलेटका रुपमा उत्र्सजित गर्दछौं अर्थात् जतिधेरै पानी हामी उपयोग गर्दछौं, त्यति नै फोहर पानी हामी उत्पन्न गराउँदछौं ।

यदि यो ढललाई उपचार गरिएन भने यसले प्रदूषण एवम् जल जमावको समस्या उत्पन्न गराउनेछ जुन सामान्यतया हाम्रा शहरी क्षेत्रका नदी प्रणालीमा देखिँदै आएको छ । बागमती सफाई अभियान चलाउनुपर्ने कारण पनि यसैले गर्दा हो किनभने हामी आफैंले त्यसमा ढल मिसाएका थियौं अर्थात् हामी एकपटक फेरी फोहोर पानीको युगमा फर्कन लागेका त छैनौं ? जलसंकट एउटा जनस्वास्थ्य संकट पनि हो । केभिड–१९ को उदाहरणलाई हेरौं त २० सेकेण्ड हात धोएर भाइरस मार्ने सल्लाह दिइँदैछ । यसको अर्थ हुनेछ, प्रत्येक पटक हात धुँदा १.५ देखि २ लिटर पानी खर्च हुन्छ । यसरी पटक–पटक धुनुको मतलब हामीलाई प्रतिदिन प्रतिव्यक्ति १५–२० लिटर पानी आवश्यक पर्नेछ ।

हाम्रो सामु यो चुनौति छ कि विकासशील देशहरुका ठूलो जनसमुदाय सक्षम पानीको सहज आपूर्ति व्यवस्था छैन अनि ति समुदाय यो प्रलयकारी भाइरसबाट कसरी मुक्त रहलान् ? यस प्रलयकारी कोभिड–१९ महामारीले हामीलाई अर्ति दिइराखेको छ कि हामी यस श्रृङ्खलामा त्यति नै कमजोर छौं जति दुनियाँमा निरिह, निःसहाय गरीब सिमान्त समुदाय हुन्छन् । त्यसैले यो सुनिश्चित गर्नुपर्ने आवश्यकता छ कि प्रत्येक नागरिकसँग सार्वजनिक स्वास्थ्यसम्म पहुँच होस् ताकि कोही पनि यस प्रलयकारी कोभिड–१९ को शिकार नबनुन् । पानी पनि यसैसँग सरोकार राख्दछ कि जनसमुदायसँग सफा पानीको पहुँच छैन भने यस महामारी फैलिनबाट रोक्ने क्षमता कहाँबाट पाउन त ?

हाम्रो आफ्नो परिवेशमा जत्रै महाभारत गरी मेलम्चीको पानी ल्याएपनि पानी जनसमुदायको धारामा उराउनु पर्नेमा बाटा–बाटामा पानी आपूर्ति गर्ने पाइप फुटेर बरु सडक जलमग्न भएको रोमान्चक तीतो यथार्थ छ भने सरोकारवाला जिम्मेवार निकाय जसलिने आत्मरतीमा नै अल्झेको अवस्था छ । शुभ संकेत त यो छ कि हामीलाई थाहा छ के गर्नुपर्नेछ । हामी सबैले जानेकै कुरा हो कि पानीलाई पुनः उपयोग गर्न सकिन्छ । हामी यो सुनिश्चित गर्न सक्छौं कि वर्षाको पानीको प्रत्येक थोपा संकलन गरौं, स्थानीय जडभण्डारण प्रणालीहरुको निर्माण गरौं । कम पानी चाहिने बालीनाली लगाऔं र अपशिपट (फोहोर) पानीको प्रत्येक थोपालाई पुनःचक्रित गरेर पुनः प्रयोग गरौं ।

वर्तमानको हाम्रो शहरी एवम् ग्रामीण खानेपानी वितरण प्रणाली यति महँगो छ कि केही घरधूरीसम्म मात्र आपूर्ति गर्न सकएिको छ । धेरै टाढाबाट पानी ल्याउनका लागि जति लामो पाइप लाइन होला आपूर्तिको लागत त्यति नै बढी लाग्ला अनि समय पनि । हाम्रो आफ्नो परिवेशमा मेलम्चीको पानी काठमाडौं उपत्यकावासीको घर धारासम्म पुग्न झण्डै साढे दुई दशक लागेको दृष्टान्त ताजै छ भन्न केको आइतबार कुर्ने ? हाम्रा शहरहरुमा अझै पनि ठूलो संख्यामा जनसमुदायहरु पाइपबाट खानेपानी आपूर्तिको सुविधाबाट बञ्चित छन् । खासगरी बागमती, विष्णुमती, मनहरा खोला किनारमा बैध–अबैधरुपले बसोवास गरेका सुकुम्बासी वस्तीहरुमा ।

तिनीहरु या त ट्याङ्करहरुबाट पानी लिन्छन् वा पिउनका लागि एवम् अन्य घरेलु प्रयोजनका लागि वा अन्य फोहर एवम् अविश्वसनीय जलश्रोतहरुमा निर्भर हुन्छन्, जसबाट तिनीहरुको स्वास्थ्यमा नराम्रो असर पार्दछ । खानेपानी आपूर्तिको लागत जति बढी हुनेछ पानीलाई ढलबाट फिर्ता ल्याई त्यसलाई उपचार गर्ने खर्च पनि त्यति नै बढ्नेछ । ज्यादा पानी आपूर्ति एवम् ज्यादा ढल उपचार प्लान्ट स्थापना एवम् संचालनका लागि योजना बनाउनु हाम्रा लागि पर्याप्त नहुने रहेछ । मेलम्ची खानेपानी आयोजनाको तीतो अनुभव हाम्रा अगाडि छँदैछ, अन्य बारे चर्चा नै किन गर्नुपरयो ? हामीले हाम्रा खानेपानी आयोजना सञ्चालन गर्ने बारे पुर्नडिजाइन गर्नुपर्ने अवाश्यकता पो देखिएको छ ।

जसले गर्दा हामी स्थानीय जलसंसाधन प्रणालीहरुमा लगानी गरेर पाइपलाइनको लम्बाइमा कटौती गर्न सक्षम होऔं । हामीले पाीको कम उपयोग गरेर मागलाई पुनः संरचना गर्नु पर्नेछ, जसलेगर्दा खेर जान कम होस् । हामीले हाम्रा ढल प्रणालीहरुलाई पुनः संरचना गर्नुपर्ने आवश्यकता देखिन्छ । सबै कुराको चुरो यतिमात्र हो कि स्वच्छ सफा पानी सबैलाई सस्तो एवम् सुलभ हुनुपर्नेछ, होइनभने यो कसैका लागि पनि लामो समयसम्म उपलब्ध हुने छैन । (लेखक एम.भी.एस्सी प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता तथा नेपाल सरकारका सेवा निवृत्त बरिष्ठ पशु चिकित्सक हुन् ।)

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १५:२१