सूचनाको शक्ति - The Power Of Information

        

भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा

फाइल तस्वीर

काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो ।

यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

विभागका निर्देशक डा. लोकनाथ भुषालले भने, “सात दिनको समया राखेर सूचना प्रकाशन गरी परीक्षा सञ्चालन गर्न निर्देशन भएको छ । सोही अनुसार कार्यालयहरुले आन्तरिक तयारी पूरा गरी परीक्षा सञ्चालन गर्नेछन् ।”

यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ललितपुर सवारी चालक अनुमतिपत्र कार्यालयले २० भदौदेखि सञ्चालन गर्ने गरी आइतबार सूचना प्रकाशित गरेको छ ।

जसअन्तर्गत प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने परीक्षाहरु, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थीहरु, प्रयोगात्मक परीक्षामा अनुतीर्ण भई पुनः सहभागी हुन बाँकी परीक्षार्थी तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजस्व बुझाइसकेका सेवाग्राहीहरुको लागि परीक्षा सञ्चालन हुनेछ ।

विभागबाट जानकारी प्राप्त भएको र कार्यालयले आन्तरिक तयारी पूरा गरी परीक्षा सञ्चालन गर्ने बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालय हेटौंडा का सूचना अधिकरी राजु अर्यालले बताए ।

विभाग अन्तर्गत १९ वटा यातायात सेवा कार्यालयहरुबाट सेवा प्रवाह हुँदै आएको छ । गत वैशाख १४ देखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा खुलाउन जनस्वास्थ्यको मापदण्ड पूरा गरी प्रगोगात्मक परीक्षा गर्ने विषयमा भदौ पहिलो साता कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र विभागबीच छलफल भएको थियो ।

विभागले कोभिड–१९ महामारीको बीचमा जनस्वास्थ्यको मापदण्ड अपनाएर ट्रायल परीक्षा सञ्चालन गर्न मापदण्ड नै बनाएको छ । अब अनलाइन आवेदन र लिखित परीक्षा पनि सञ्चालन हुने विभागले जनाएको छ । करिब ४ लाख परीक्षार्थी अनलाइन आवेदन दिएर परीक्षाको प्रतीक्षामा छन् ।

विभागले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ पनि लागू हुने जनाएको छ । यसअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा १०० अंकभार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुनेछन् । अब हुने अनुमतिपत्रको परीक्षामा यो नियम लागू हुने विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

वर्ग ‘क’ मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ मा कार, जिप, डेलिभरी भ्यानमा नयाँ नियम कार्यान्वयनमा आउने छ । विभागका अनुसार अव कार्यान्वयनमा ल्याउन लागिएको व्यवस्थामा मेजर र माइनर दुई क्याटोगरीमा विभाजन गरेर प्रयोगात्मक परीक्षाको अंकभार अनुसार अंक दिने छ ।

कानूनी व्यवस्थालाई संसोधन गरेर ट्रायलमा परीक्षामा सहभागीको प्राविधिक पक्षलाई वर्गिकरण गरी अंकभार तय हुने र मेजर, माइनरका आधारमा अंकभार वर्गिकरण अनुसार परीक्षार्थीले ७० अंक ल्याएका सवारी अनुमतिका लागि योग्य हुने गरी कार्यविधि संशोधन गरिएको थियो ।

परीक्षार्थीले ट्रायल लिनको लागि आफैं सवारीसाधनको व्यवस्था गर्न सक्नेछन् । पछिल्लो समय कोभिड–१९ का कारण लामो समय चालक अनुमतिपत्र रोकिँदा सेवाग्राहीको चाप अत्यधिक बढेर गएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ०७:५२