सूचनाको शक्ति - The Power Of Information

        

समाज

बाँकेको खजुरा गाउँपालिका वडा नं. १ वालविवाह मुक्त घोषणा

अभियानमा लागेका विभिन्न व्यक्तित्वलाई सम्मान

बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नं. १ लाई वालविवाह मुक्त वडा घोषणा गरिएको छ । आइतवार एक समारोहका वीच वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

वडामा गरिएको सर्वेक्षण अनुसार २० प्रतिशतभन्दा तल अर्थात खजुरा १ मा १६ दशमलव १२ प्रतिशत वालविवाहको अवस्था रहनुका साथै बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालविवाह मुक्त अभियान संचालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेकोलगायतका मापदण्ड पूरा भएकाले वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।

वडा नं. १ की कार्यवाहक अध्यक्ष फत्तेकुमारी जैसीले वडा नं. १ लाई बालविवाहमुक्त वडा घोषणा तथा प्रतिवद्धता पढेर सुनाएपछि पालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले उक्त प्रतिवद्धतापत्र वडालाई हस्तान्तरण गरे ।

हामी सबैको प्रतिवद्धता ः बाल विवाह विरुद्धको साझा प्रतिवद्धता भन्ने मूल नाराका साथ वडा नं. १ लाई बाल विवाह मुक्त वडा घोषणा सभा २०७८ लाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यवाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताए ।

कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले २० वर्ष पुगेपछि मात्र विवाह गरिदिने कुरामा समाजमा सबैको दायित्व हुनु पर्नेमा जोड दिइन् ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले वालविवाहलाई पूर्णरुपमा निरुत्साहित गर्न सरोकारवाला निकाय सक्रियरुपमा लाग्नु पर्ने बताए ।

कार्यक्रममा वालविवाह मुक्त अभियानमा लागेका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । केही समय पहिला खजुरा गाउँपालिका वडा नं. ३ लाई वाल विवाहमुक्त वडा घोषणा गरी सकिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतवार १९:४५