सूचनाको शक्ति - The Power Of Information

        

काबुल विमानस्थल कब्जा गर्ने अन्तिम तयारीमा तालिबान

काबुल । अमेरिकी सेना फर्किएपछि अफगानिस्तानमाथि कब्जा जमाएको तालिबानले काबुल विमानस्थलमाथि पनि नियन्त्रण तयारी गरेको छ । विमानस्थलबाट पनि अमेरिकी सेना देश फर्किने अन्तिम तयारीमा जुटेपछि तालिबानले त्यहाँ कब्जा जमाउने तयारी गरेको हो ।

तालिबानका प्रवक्ता जबीहुल्ला मुजाहिदले काबुल एअरपोर्टमाथि नियन्त्रणका लागि अमेरिकी सेनाको संकेतको प्रतीक्षा भइरहेको छ । समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै उनले आफूहरुसँग प्राविधिक जनशक्ति र इन्जिनियरहरूको एउटा टोली तयारी अवस्थमा रहेकाले एयरपोर्ट प्रणाली चलाउन कुनै समस्या हुने छैन ।

जबीहुल्ला मुजाहिदले तालिबानले अफगानिस्तानका ३४ मध्ये ३३ प्रान्तका गभर्नर र पुलिस प्रमुखको पनि छानिएको शनिबार बताएका छन् । उनले चाँडै देशको आर्थिक अवस्थासँग जुध्ने काम पनि थालिने बताएका छन् ।

फर्किँदै अमेरिका

अफगानिस्तानबाट आममानिसलाई निकाल्ने प्रक्रिया अब अन्तिम चरणमा प्रवेश गरेको अमेरिकाले जनाएको छ । काबुल विमानस्थलमा अब लगभग एक हजार सर्वसाधारण रहेका छन् । जसलाई अमेरिकी वायु सेनाको जहाजमार्फत अन्यत्र लगिँदैछ । अफगानिस्तानका नयाँ शासक तालिबानहरु एयरपोर्टको सुरक्षा र सञ्चालन जिम्मेवारी लिन तयार भइसकेको बताएका छन् ।

एक सुरक्षा अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार अपरेशनको अन्तिम मितिबारेमा अहिलेसम्म कुनै निर्णय भएको छैन । तर अमेरिकी राष्ट्रपति जो बाइडनले यसअघि नै उनको फौज ३१ अगस्टसम्म काबुलबाबाट हिँडिसक्ने बताएका थिए ।

काबुल एयरपोर्टमा तैनाथ एक सुरक्षा अधिकारीले भने, ‘हामी सबै विदेशी नागरिक र जोखिममा परेका अफगानीलाई यहाँबाट निकाल्न चाहन्छौँ । त्यसपछि मात्रै सैनिकले अफगानिस्तान छाड्नेछन् ।’ यसअघि अमेरिकी अधिकारीले शनिवार रोयटर्सलाई बताए अनुसार काबुल विमानस्थल क्षेत्रमा करिब ४ हजार सैनिक रहेको बताएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतवार १४:५९