सूचनाको शक्ति - The Power Of Information

        

माधव नेपाललाई मन्त्री छान्ने जिम्मा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको एकीकृत समाजवादी पार्टीको संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको एक सांसदले जानकारी दिए ।

‘आजको बैठकले प्रतिनिधि सभामा दलका नेता अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय सभाको दलको नेता बेदुराम भुसाललाई चयन गरेको छ,’ ती नेताले भने, ‘देउवा सरकारमा जाने मन्त्री छान्ने जिम्मा अध्यक्ष माधव कमरेडलाई नै दिइएको छ ।’

दलको बैठक बस्नु अघि प्रधानमन्त्री देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष नेपालबीच छलफल भएको थियो । तर मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न सकेको थिएन । स्रोतका अनुसार एकीकृत समाजवादी पार्टीले ६ मन्त्री र एक राज्यमन्त्री मागेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतवार १४:२४