सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट शल्यक्रिया

बाँके । बाँकेको खजुरास्थित पश्चिम नेपालकै पहिलो सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट पाठेघर र डिम्बासयका क्यान्सरका बिरामीहरूको सफल शल्यक्रिया गरिएको छ ।

काठमाडौँबाट महिला क्यान्सर रोग विशेषज्ञ चिकित्सकलाई झिकाएर क्यान्सर अस्पतालले पहिलो पटक दूरबिन प्रविधिबाट स्तन र पाठेघरका क्यान्सर बिरामीको शल्यक्रिया गरी सेवा शुभारम्भ गरेको हो ।

काठमाडौँबाट आएका महिला क्यान्सर रोग विशेषज्ञ डा.सुरेश कायस्थ र विनम्र सिग्देलसहित नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल र क्यान्सर अस्पताल खजुराका आठ विशेषज्ञ चिकित्सकको टोलीले पाठेघर र डिम्बासयमा क्यान्सर भएका बिरामीको शल्यक्रिया गरेको क्यान्सर अस्पताल खजुराले जनाएको छ ।

अस्पतालका अनुसार बिरामीको अवस्था हेरेर सम्भव भएसम्म दूरबिन प्रविधिबाट र सम्भव नभएका बिरामीको चिरफारबाटै शल्यक्रिया गर्न थालिएको छ । अस्पताल प्रमुख डा.कृष्णप्रसाद आचार्यले क्यान्सरका बिरामीको उपचार सेवा विस्तार गर्ने उद्देश्यले दूरबिन प्रविधिबाट क्यान्सरका बिरामीको अप्रेसनसहितको उपचार सेवा सुरु गरिएको बताए ।

उनका अनुसार क्यान्सर रोग विशेषज्ञसहितको चिकित्सकहरूको टोलीले चार दिन क्यान्सर अस्पताल खजुरामा बिरामीको शल्यक्रिया गर्नेछ । शल्यक्रियाका लागि १८ जना बिरामी अस्पतालमा भर्ना भएका छन् । सरकारी अस्पतालमा अत्याधुनिक प्रविधिबाट उपचार सेवा पाएपछि बिरामी लाभान्वित भएका छन् ।

पछिल्ला दिनहरूमा महिलाहरूको प्रजनन अङ्गमा देखिएको क्यान्सर रोगको दूरबिन प्रविधिबाट शल्यक्रिया गर्ने क्रम बढ्दै गएको छ । दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया सहज र प्रभावकारी हुने महिला क्यान्सर रोग विशेषज्ञ डा.सुरेश कायस्थले बताए ।

क्यान्सर अस्पतालले सुरु गरेको शल्यक्रिया सेवाबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीहरूले सहज रूपमा उपचारका सेवा पाउन थालेको अस्पताल प्रमुख डा.आचार्यले बताए । उनले यसअघि यस क्षेत्रका क्यान्सरका बिरामीलाई उपचारका लागि भरतपुर, काठमाडौँ र भारतको लखनउ, दिल्ली जानुपर्ने बाध्यता रहेकोमा अब बाध्यताको अन्त्य हुँदै गएको बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतवार ११:००