सूचनाको शक्ति - The Power Of Information

        

सडक दुर्घटनामा रेडक्रसका कर्मचारीको मृत्यु

दैलेख । मोटरसाइकल दुर्घटनामा परी दैलेखमा एक जनाको मृत्यु भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-५ घर भई हाल नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखामा कार्यरत ४२ बर्षीय नारायणप्रसाद पोखरेलको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उनको दुर्घटनास्थलमै मृत्यु भएको हाे ।  दैलेख सदरमुकामबाट कार्यक्षेत्र नौमूले गाउँपालिकातर्फ जाँदै गरेको पोखरेल सवार बा ७५ प ५८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको दैलेख प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

पोखरेल सवार मोटरसाइकल दैलेख नौमले सडकखण्ड अन्तर्गत नौमूले गाउँपालिका-१ तामेखोला नजिकैको सेतो भीरमा दुर्घटनामा परेको डीएसपी श्रेष्ठले बताए । डीएसपी श्रेष्ठका अनुसार मृतकको शव पोस्टमार्टमका लागि दैलेख अस्पतालमा ल्याउने तयारी भईरहेको छ ।

पोखरेल रेडक्रसद्धारा जिल्लाको नौमूले गाउँपालिका-३ द्धारीमा सञ्चालित समावेशी खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन परियोजनामा फिल्ड सुपरभाइजर पदमा कार्यरत थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार १५:४७