सूचनाको शक्ति - The Power Of Information

        

पार्टीको महाधिवेशनमा ध्यान केन्द्रित गर्ने कांग्रेस पौडेल पक्षको निर्णय

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।

शनिबार बिहान चाक्सीबारीमा रहेकाे नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी  केन्द्रित भएर लाग्ने निर्णय गरेको हो ।

महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी पंक्तिलाई एक औपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय पनि गरिएको नेता सिंहले जानकारी दिनु भयो ।

पार्टी सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता पौडेलले शुक्रबार गरेको भेट पछि पौडेल पक्षले महाधिवेशनको वातावरण बनेको निष्कर्ष निकाल्दै त्यसका लागि सिंगो पार्टी पंक्तिलाई एकजुट भएर अघि बढन आह्वान गर्ने निष्कर्षमा पुगेको हो ।

‘क्रियाशील सदस्यहरुको विवादसम्बन्धी बाँकी काम पनि विधि र नियमपूर्वक गरेर महाधिवेशनमा जाने विषयमा सभापतिजीसँग कुरा भएको छ ।

र त्यसै अनुसार अघि बढिनेछ’ नेता सिंहले भन्नु भयो, ‘आजै यो बैठकबाट रिले अनसनमा बसीरहेका जिल्ला सभापतिजीहरुको माग सम्बोधन हुने वातावरण बनेकाले रिले अनसन तोडाउने निर्णय गरिएको छ ।

अब महाधिवेशनका लागि सबैले एकजुट भएर काँग्रेसको महाधिवेशनमा लाग्नका लागि एक कार्यक्रमको आयोजना गरी अनुरोध गर्ने भन्ने सहमति पनि गरिएको छ ।’

पौडेल पक्षले दुई दिन भित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद टुंगो लगाउन पनि पार्टी सभापति देउवालाई दबाव दिएको छ ।

दुई दिन भित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद समाधान गरी वडा अधिवेशन यही  भदौ १८ गतेबाटै प्रारम्भ गर्ने पार्टी केन्द्रीय समिति र निर्वाचन समितिको निर्णय कार्यान्वयन गरेर अघि बढने विषयमा पार्टी सभापति देउवासँग सहमति गरिएकाले त्यही अनुसार अघि बढ्ने निर्णय पनि गरिएको नेता सिंहले बताउनु भयो ।

पौडेल पक्षले भदौ १८ गतेबाट वडा तहको अधिवेशन सम्पन्न गर्ने पार्टीको निर्णय कार्यान्वयनमा नगए पार्टीको वैधानिकता नै संकटमा पर्ने निष्कर्ष निकाल्दै चिन्ता व्यक्त गर्दै आएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार १४:३७