सूचनाको शक्ति - The Power Of Information

        

समाचार

काँग्रेस नेता बस्नेतले भने, ‘अग्नि सापकोटा जेल जाने दिन आउँदैछ’

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले संघीय संसदका सभामुख अग्नि सापकोटाबारे विवादित अभिव्यक्ति दिएका छन् । गृह जिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ कर्थलीमा शुक्रबार देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यासका क्रममा उनले सापकोटाबारे विवादित टिप्पणी गरेका हुन् । सापकोटा उनकै कु–कर्मले छिट्टै जेल जाने अवस्था आउन लागेको दाबी गरेका छन् ।

कीर्ते गरेर सरकारी जग्गा हडपेको अभियोगमा अग्नि सापकोटा जेल जान सक्ने उनको तर्को थियो । ‘अग्नि सापकोटाजीले धेरै अपराधहरू गर्नुभयो । उहाँलाई अर्जुन लामा हत्या प्रकरण पनि बाँकी छ,’ नेता बस्नेतले अगाडि भने, ‘उहाँ (अग्निप्रसाद सापकोटा)बाट धेरै विघा सरकारी जग्गा कीर्ते गरेर जबरजस्ती हडप्ने काम भएको छ ।’ उनले सरकारी जमीन सापकोटाको मान्छेको नाममा पास गरिएको पनि जिकिर गरे ।

सापकोटाले गरेको पाप धुरीबाट कराउने समय आइसकेको पनि उनले बताएका छन् । सापकोटा संघमा निर्वाचित भएर सभामुख बनेपछि जिल्लाका लागि कुनै सिन्को नभाँचेको पनि उनले जिकिर गरे । ‘अग्नि सापकोटाले जिल्लाका लागि सिन्को पनि भाँचेका छैनन् । काभ्रेको अर्जुन लामा हत्या गरेको काण्डमा उनको मुद्धा बाँकी नै छ,’ उनले भने, ‘नेताहरू उहाँ जस्तै अपराधी हुनु भएन ।’

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार १३:००