सूचनाको शक्ति - The Power Of Information

        

प्रविधि

सामाजिक सञ्जालमा ‘भाइरल’ हुन अध्ययन विनै बोल्छन् युवा !

काठमाडौं । नेपाली युवा सामाजिक सञ्जालमा ‘भाइरल’ हुने नाममा विना अध्ययन बोल्ने गरेको पाइएको छ । ग्लोबल युथ पार्लियामेन्टले शुक्रवार साँझ आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा वक्ताले युवाले कतिपय मुद्दामा विना अध्ययन र तथ्य बोल्ने तथा अफवाह फैलाउने गरेको बताइएको हो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले युवालाई भ्रमबाट जोगाउन शिक्षामा लगानी गर्नुपर्ने बताए । ‘विना अध्ययन युवा बोल्दा समाजमा गलत सूचना प्रभाव भइरहेको छ, यसलाई रोक्नु जरुरी छ,’ उनले भने । वरिष्ठ पत्रकार टीकाराम यात्रीले अभियानकर्मीले प्राप्तिको आकांक्षा नराखी काम गर्न सक्दा समाजले उनीहरूबाट लाभ लिन सक्ने बताए ।

समाजमा अफवाह फैलाएर नयाँ पुस्तालाई गलत बाटोतिर तानिरहेको उनको भनाइ थियो । मानवअधिकारवादी एवं पत्रकार राजन कुइँकेलले सामाजिक अभियानका नाममा अभियानकर्मीले आफू लोकप्रिय हुन गलत सूचनाको सहारा लिने गर्दा समाजमा बिग्रह ल्याउने सुनाए ।

संसारमा आपतविपत, प्रकोप र महामारीजस्ता समयमा ल्याइने गलत सूचनाको बाढीले युवासहित समाजको तप्कालाई भ्रममा राख्ने गरेको उनको भनाइ थियो । नायिका रेखा थापाले विगत लामो समयदेखि युवालाई राजनीतिक दलले प्रयोग मात्र गरेको र उनीहरूको व्यक्तित्व निर्माणमा बेवास्ता गरेकाले आज समाजमा त्यसको असर देखिएको बताए ।

ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकार अर्यालले विषयवस्तु माथि राम्रो ज्ञान नराखी प्रचारको लागि मात्र गरिने कामले समाजलाई गलत बाटोमा हिँडाउने सुनाए । कार्यक्रमका अन्य वक्ताले विरोधको पछाडि प्रमाणित तर्क, त्यसको विकल्प र समाधन दिनेभन्दा पनि आफू लोकप्रिय बन्न चर्को विरोध गर्ने र कुतर्क पेश गर्नेहरू नै अभियानकर्मीका रूपमा चर्चामा रहेको बताएका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार ०९:५४