सूचनाको शक्ति - The Power Of Information

        

मध्यपहाडी राजमार्गका विभिन्न ठाउँमा पहिरो, सडक अवरुद्ध

कालीआँप र हैबारस्थित अक्करे भीरमा पहिरो पन्छाउँदै ।

सिन्धुली । अविरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध मध्यपहाडी राजमार्ग लामो समयदिख अवरुद्ध छ । बिहीबार रातिदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको उदयपुरको घुर्मीदेखि सिन्धुलीको खुर्कोट खण्डका धेरै ठाउँमा पहिरो गएको छ । सडकमा झरेको पहिरो पन्छाउन समय लागेकाले राजमार्ग सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पहिरो शुक्रबार बिहानैदेखि पन्छाउन थालिए पनि अझै नसकिएको प्रहरीले जनाएको छ । गोलन्जोर गाउँपालिका–२ को कालीआँप र हैबारस्थित अक्करे भीरमा ठूलो पहिरो खसेकाले स्काभेटर र जेसिभि लगाएर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । कालीआँप, अक्करे भीर लगायत खुर्कोटसम्म नै ठूलो पहिरो भएकाले पन्छाउन समय लाग्ने लामाले बताए ।

अहिलेसम्म उदयपुरको घुर्मीदेखि कालीआँपसम्मको पहिरो पन्छाएर एकतर्फी गाडी सञ्चालन भएको उनले बताए । ‘धेरै ठाउँमा पहिरो खसेको छ । अहिलेसम्म पहिरो पन्छाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘ठूलो पहिरो भएको ठाउँमा पन्छाउन समय लाग्ने भएकाले सडक खुलाउन कति समय लाग्छ भन्न सकिने अवस्था छैन् ।’ पहिरोका कारण ओखलढुङ्गा, खोटाङ, उदयपुर लगायतका जिल्लाबाट आएका सवारी साधन र यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

७० भन्दाबढी सवारी साधन कालीआँपमा अलपत्र परेर रहेका यात्रु अशोक काफ्लले जानकारी दिए । सदरमुकायम सिन्धुलीमाढी र विभिन्न स्थानीय तह जोड्ने सडक अवरुद्ध भएको छ । सदरमुकाम र तीनपाटन गाउँपालिका जोड्ने सिन्धुली–चकमके सडक, घ्याङलेख गाउँपालिका र सदरमुकाम जोडिने सडक पनि पहिरोका कारण अवरुद्ध छन् । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार ०९:०४