सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

पाँच दलीय गठबन्धन अझै अघि बढ्छ, हामी सरकारमा जान्छौँ : माधव नेपाल

राजतन्त्र ढाल्न सकिन्न भन्नेहरु नयाँ पार्टी चल्दैन भन्दैछन् । हाम्रो साथ छाड्नेहरुले नयाँ पार्टी दर्ता गराइसकेका थिए ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी सरकारमा जान्छौँ । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौँ । कम्युनिष्ट पार्टी छोड्दैनौँ,’ उनले भने ।

अध्यक्ष नेपालले नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेहरु अहिले नयाँ पार्टी चल्दैन भनिरहेको बताएका छन् । ‘यस्ता चुनौती पटक पटक सामना गरेका छौँ । बाधा अवरोध पन्छाएका छौँ । अहिले पनि त्यस्तै छ,’ उनले भने । नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेले नयाँ पार्टीले चल्दैन भन्दै हिडिरहेको पनि अध्यक्ष नेपालले बताए ।

अध्यक्ष नेपालले भने, ‘केशरजंग रायमाझीले दक्षिपन्थी बाटो समात्नुभयो । त्यसबेला विद्रोह गरे केही गर्न सकिन्न भन्नेहरु थिए । केही त्यसैमा विलिन भए । पुष्पलालजस्ता व्यक्तिले विद्रोह गरेर पार्टी गठन गर्नुभयो । नेतृत्व गर्नुभयो । पुष्पलालले विद्रोह गरेको पार्टीमा हामीहरु धेरै रहेका थियौँ ।’

अध्यक्ष नेपालले आफूलाई छाडेर जानेहरुले त्यसबेला नै नयाँ पार्टी दर्ता गराएको खुलासा पनि गरेका छन् । उनले अहिले विभिन्न कारणले उनीहरु आफूहरुसँग आउन नसकेको बताए । ‘हाम्रो साथ छाडेका साथीहरुले नयाँ पार्टी दर्ता त्यसबेला नै गरिसकेका थिए,’ अध्यक्ष नेपालको भनाइ थियो । ओलीले पार्टीलाई निजी कम्पनीमा ढालेपछि, जनताका एजेन्डालाई तिलान्जली दिएपछि त्यसका विरुद्धमा विद्रोह गर्नेबाहेक विकल्प नभएको उनले बताए ।

अध्यक्ष नेपालले भने, ‘इतिहासमा यस्तो धेरै भएको छ । समूहमा र पार्टीमा यस्ता विद्रोह भएका छन् । ठूलो पंक्तिले ओली समूहबाट विद्रोह गर्नुभएको छ । हामीले उतिबेलै पार्टी खोल्न सक्थ्यौँ । हामी जनताबाट निर्वाचित भएका कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो । संघीय संसदको हकमा सोच्नुपर्थ्यो ।’

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १५:४१