सूचनाको शक्ति - The Power Of Information

        

७८ वर्षिय जनवादी गायक जेबी टुहुरेको निधन

काठमाडौं । जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । मंगलबार कलंकीस्थित आफ्नै निवासमा लडेका उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । उनको मस्तिष्क घातका कारण निधन भएको उनका छोरा निर्भिकले पुष्टि गरेका छन् ।

७८ वर्षिय गायक टुहुरेलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या थियो । भदौ १ गते कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्याएका थिए । उपचारमा संलग्न डा.रोहन झाका अनुसार अस्पताल पुर्याउँदा उनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो ।

जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार दोस्रो संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

को हुन् जेबी टुहुरे ?

१५ कात्तिक २००१ मा धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गीले सानैदेखि गीत गाउन थालेका थिए । २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए । उनी जेबी टुहुरेकै नामबाट चिनिए । २०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएका उनले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए ।

उनले दर्जनौं जनवनदी गीत गाएका छन् । उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई…’ बोलको गीत लोकप्रिय छ । राजनीतिक रुपमा उनको आवद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थिए । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद बनेका उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादीका सल्लाहकार हुन् । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन समेत स्थापना गरिएको छ । फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १५:३१