सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र संयुक्त राज्य अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय खेलको तालिका सार्वजनिक भएको छ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधवार त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक गरेको हो। खेल तालिका अनुसार नेपालले पहिलो खेल भदौ २८ (सेप्टेम्बर १३)मा संयुक्त राज्य अमेरिकासँग खेल्ने छ।

No description available.

त्यस्तै दोस्रो खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग भदौ २९ (सेप्टेम्बर १४)मा प्रतिस्पर्धा गर्नेछ। नेपललाई तेस्रो खेलको अगाडि भने दुई दिनको आराम समय दिइएको छ।

तेस्रो खेलमा नेपालले संयुक्त राज्य अमेरिकासँग असोज १ (सेप्टेम्बर १७)मा प्रतिस्पर्धा गर्नेछ। र एक दिनको आराम पश्चात् असोज ३ (सेप्टेम्बर १९)मा नेपालले ओमानविरुद्ध चौथो खेल खेल्ने तालिका रहेको छ।

सिरिजका लागि १७ खेलाडी सहित २२ सदस्सीय टोली ओमान पुगिसकेका छन्। ओमानमा गरिएको नेपाली टोलीको पीसिआर टेस्टको रिपोर्ट पनि नेगेटिभ आइसकेको छ।

लिग-२ सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। नेपाल र पीएनजीबीचको खेल भदौ २० र २३ (सेप्टेम्बर ५ र ८) मा खेलिने छ।

नेपालले विश्वकप लिग-२ अन्तर्गत गत वर्ष नै ओमान र संयुक्त राज्य अमेरिकासँग ४ एकदिवसीय खेल खेलिसकेको छ। नेपाल ४ खेलमा २ जित र २ हारसंगै अंक तालिकाको छैठौं स्थानमा रहेको छ। त्यस्तै ओमान अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ।

नेपालसहित ओमान, अमेरिका, पपुवा न्युगिनी, स्कटल्यान्ड, नामिबिया र युएई गरी विश्वकप लिग-२ मा ७ टोली सहभागी रहेका छन्। सन् २०२३ सम्म होम र अवेको आधारमा आयोजना हुने यस प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा स्थान प्राप्त गर्नेछन्।

ओमान प्रस्थान गर्ने टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार ०८:०७